ओखलढुंगा - नेपाली कांग्रेसका केन्द्रीय सदस्य रामहरि खतिवडाले गाउँमा कांग्रेस बलियो भयो भने मात्रै चुनावमा जित हुने बताएका छन् ।
शनिबार गृहजिल्ला ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिका–७ मा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै खतिवडाले गाउँका कार्यकर्ताले नै कांग्रेसलाई बचाएर राखेको बताए । उनले भने, ‘तपाईहरूकै कारण कांग्रेस बाँचेको छ ।
कांग्रेसको जीवन गाउँका कार्यकर्ताले बचाएर राखेका छन् ।’ पूर्वसांसद समेत रहेका खतिवडाले ओखलढुंगाको विकासमा आफूले सधैँ अग्रस्थानमा रहेर काम गर्ने प्रतिवद्धता पनि जनाएका छन् ।
उनले भने, ‘ओखलढुंगाको विकासमा तेरो वा मेरो भनेर भेदभाव नगरेर काम गर्ने प्रतिवद्धता व्यक्त गर्न चाहन्छु । कुनै विकासको कार्यक्रम चाहिएको छ भने मलाई भन्नु होला । सक्ने सहयोग गर्नेछु ।’
यसैबीच, केन्द्रीय सदस्य खतिवडाले मानेभञ्ज्यङ–७ मा नेपाली कांग्रेसको टोल समिति गठन गरिदिएका छन् । सञ्जय नेपालीको संयोजकमा १५ सदस्यीय हर्कपुर टोल समिति गठन गरिदिएको खतिवडाका स्वकीय सचिव हुकुम राईले जानकारी दिएका छन् ।
खतिवडाले कांग्रेस टोल–टोलमा बलियो भएपछि मात्र वडा, पालिका, क्षेत्र र जिल्ला बलियो हुने भएकाले टोली समितिलाई आफूले सहयोग गर्न प्रतिबद्धता जनाएका छन् ।
नेता खतिवडाले आफू सांसद हुँदा २७ किलोमिटर टाढा रहेको भिरगाउँबाट खानेपानी योजना ल्याइदिएको बताए ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।