काठमाडौं - एक वर्षअघि प्रधानमन्त्री केपी ओलीले प्रतिनिधिसभा विघटन गरेपछि सुरु भएको राजनीतिक किचलो अहिले पनि त्यस्तै छ ।
एमाले अध्यक्ष ओलीको माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग पानी बाराबारको अवस्था छ ।
कम्युनिस्ट घटकहरू छिन्नभिन्न भएका छन् । ०७४ सालमा वाम एकता गर्ने भन्दै एमाले र माओवादी केन्द्र एक भएर नेकपा बनेका थिए । सो पार्टीका अध्यक्ष ओली प्रधानमन्त्री बने ।
उन्री इतिहासकै सर्वाधिक शक्तिशाली प्रधानमन्त्री थिए । तर, सनकको भरमा प्रतिनिधिसभा विघटन गरेपछि नेकपा एकता खारेज भयो । एमाले विभाजन भयो । नेकपा एकता खारेज र एमाले विभाजनको सबैभन्दा ठूलो पीडा भने चिनियाँ राजदूत होउ यान्छीलाई देखियो ।
झन्डै एक वर्षसम्म उनी मौन बसिन् । किनभने ओली र प्रचण्डबीचको तिक्तता यतिसम्म बढ्यो कि उनीहरू एकअर्काको नाम सुन्न पनि चाहँदैनथे । तर, अहिले फेरि चिनियाँ राजदूत यान्छी सक्रिय भएकी छन् ।
स्थानीय तहको निर्वाचन नजिकिँदै जाँदा उनको सक्रियतालाई अर्थपूर्ण रूपमा लिइएको छ । स्रोतका अनुसार आगामी चुनावमा कम्युनिस्टहरू छुट्टाछुट्टै गएमा नेपाली कांग्रेसले बहुमत ल्याएर सरकार बनाउने भय उनमा देखिएको छ ।
सोही कारण अहिले उनी बालकोट र खुमलटारबीच प्याचअप गराउने अभियानमा सक्रिय भएकी छन् । केही दिनअघि उनले एमाले अध्यक्ष ओलीलाई बालकोटमै भेटिन् ।
स्रोतका अनुसार उनले फेरि एकपटक वाम एकताका लागि आग्रह गरेकी थिइन् । यान्छीले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग भेटघाट गरेको सार्वजनिक गरिएको छैन ।
तर, उनले आफ्ना दूतमार्फत संवाद अघि बढाएको बुझिएको छ । यसकै प्रभावस्वरूप शनिबार प्रचण्डले आफूले प्रधानमन्त्री शेरबहादुर देउवालाई ओली निवास बालकोट पुगेर संसदको अवरोध हटाउन पहल गरौं भन्ने अभिव्यक्ति दिएको बुझिएको छ ।
अबको केही समयमा ओली र प्रचण्डबीच सम्बन्ध सुधार हुने राजनीतिक विश्लेषकहरूले अनुमान गर्न थालेका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।