काठमाडौं : सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को विवाद उत्कर्षमा पुगेको बेला नेपालका लागि चिनिया राजदूत होउ यान्छी पुनः सक्रिय भएकी छन्। नेकपाकै सचिवालय सदस्यकै जत्तिकै सक्रिय भएर यस अघिको विवाद मत्थर पारेकी यान्छी यस पटक पनि सक्रिय भएकी हुन्।
राजदूत यान्छी हिजो राती करिब २ घण्टा प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा थिइन्। प्रधानमन्त्री केपी शर्मा ओलीकै आग्रहमा साँझ आठ बजे बालुवाटार पुगेकी राजदूत यान्छी राती १० बजेर १० मिनेट जाँदासम्म बसेकी थिइन्। प्रधानमन्त्री केपी शर्मा ओली र राजदूत यान्छीबीचको छलफलमा अरु कोको थिए भन्ने खुलेको छैन। आज नेकपाको सचिवालय बैठक बस्दै छ।
नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधव नेपाल पक्षधरले बैठक बोलाएको हो। आजको बैठकमा प्रधानमन्त्रीसमेत रहेका नेकपाका अर्का अध्यक्ष केपी शर्मा ओली आउने या नआउने अन्यौल छ।
ओली नआए पनि प्रचण्ड, नेपाल र अर्का वरिष्ठ नेता झलनाथ खनाल बैठक बसाएर पेलेरै जाने तयारीमा छन्। हिजो मात्रै प्रचण्डले राष्ट्रपति विद्यादेवी भण्डारीलाई शितल निवास पुगेर भेटेका थिए। नेकपाको हरेक विवादमा मुछिने राष्ट्रपति भण्डारी र राजदूत यान्छी यसपटक पनि सक्रिय भएका हुन्।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।