काठमाडौं – सत्तारुढ गठबन्धनले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) बारे साझा धारणा बनाउन अध्ययन कार्यदल गठन गरेको छ ।
प्रधानमन्त्री शेरबहादुर देउवाको सरकारीनिवास बालुवाटारमा बसेको गठबन्धन बैठकले पूर्व प्रधानमन्त्री झलनाथ खनालसहित नेता सहभागी कार्यदल बनाएको हो ।
आईतवार बसेको गठबन्धनको बैठकले सत्ता साझेदार दलहरुले एमसीसीमाथि प्रश्न उठाएपछि त्यसबारे समान धारणा बनाउन ३ सदस्यीय कार्यदल गठन गरेको छ ।
अध्ययन कार्यदलमा सरकारका तर्फबाट सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ र नेकपा एकीकृत समाजवादीका वरिष्ठ नेता झलनाथ खनाल रहेका छन् ।
समितिले एमसीसीका विवादास्पद बुँदामाथि अध्ययन गर्ने र त्यसबारे धारणा बनाएर शीर्ष नेताहरुमाझ प्रस्तुत गर्ने भएको छ । बैठकमा प्रधानमन्त्री देउवाले संसदको अधिवेशनमा एमसीसी पेश गर्ने र अनुमोदन गर्ने विषय प्रस्तुत गरेका छन् । संसद् बैठक पुस ६ गते बस्ने भएको छ ।
बैठकमा सहभागी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), राष्ट्रिय जनमोर्चा र मजदुर किसान पार्टीले एमसीसी स्वीकार्य नहुने धारणा राखेका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।