काठमाडौं – हाल नेपालको मौसममा पश्चिमी वायुसँगै आएको पश्चिमी न्यून चापीय प्रणाली, अरब सागरमा बनेको न्यून चापीय क्षेत्र र आसपासमा रहेको न्यून चापीय प्रणालीको संयुक्त प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
नेपालमा एकैसाथ ३ वटा मौसम प्रणालीको प्रभाव कायम रहेकाले देशका विभिन्न स्थानमा मौसम बदली, वर्षा, हिमपात तथा चिसो बढ्नेक्रम जारी रहेको जनाइएको छ ।
विकसित मौसमी प्रणालीका कारण बुधवार साँझबाट सुदूरपश्चिम प्रदेश हुँदै पूर्वतिर बादल सर्ने क्रममा सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेश धेरै स्थानमा सामान्यदेखि पूर्ण बदली र अन्य प्रदेशमा आंशिकदेखि सामान्य बदली रहने भएको छ ।
सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी र बागमती प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका धेरै स्थानहरूमा मध्यमदेखि भारी हिमपात हुने सम्भावना रहेको समेत महाशाखाले जनाएको छ ।
राजधानी काठमाडौं उपत्यकामा मौसमी प्रणालीको असर बिहीबारबाट देखिएको छ । बिहीवार रातिदेखि काठमाडौंको मौसम बदली हुने देखिएको छ भने पहाडी क्षेत्रका केही स्थानमा हल्का वर्षा पनि हुनसक्ने जनाइएको छ ।
आगामी २४ घण्टामा सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशको पहाडी भूभागको थोरै स्थानमा हल्का वर्षाको र उच्च पहाडी र हिमाली भू–भागको थोरै स्थानहरुमा हल्कादेखि मध्यम हिमपात सम्भावना रहेको र देशभर चिसो वढ्ने क्रममा समेत रहेकाले पर्वतारोहण, हवाई, यातायात लगायत दैनिक जनजीवनमा समेत असर पर्न सक्ने देखिएकाले आवश्यक सुरक्षा एवं सतर्कता अपनाउन महाशाखाले चेतावनी दिएको छ ।
मौसम विश्लेषण (Meteorological Analysis)
हाल देशमा पश्चिमी वायुसँगै आएको पश्चिमी न्यून चापीय प्रणाली (Westerly Trough) र अरब सागरमा बनेको न्यून चापीय क्षेत्र (Low Pressure System) र आसपासमा रहेको न्यून चापीय प्रणालीको प्रभाव रहेको छ।
हाल मौसमको अवस्था (Present Weather Status)
सुदूर पश्चिम, कर्णाली, लुम्बिनी तथा गण्डकी प्रदेशमा सामान्य देखि पूर्ण बदली रही बाँकी भू-भागमा आंशिक देखि सामान्य बदली रहेको छ।
आगामी तीन दिनको मौसम पूर्वानुमान
२०७८ मंसिर १६ गते (बिहीवार)
दिउँसो : देशभर सामान्य देखि पूर्णतया बदली रहनेछ। सुदूर पश्चिम, कर्णाली, गण्डकी, लुम्बिनी र बागमती प्रदेशका पहाडी भू-भागको थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको र सो प्रदेशका उच्च पहाडी र हिमाली भू-भागका धेरै स्थानहरूमा मध्यम देखि भारी हिमपात सम्भावना रहेको छ।
राती : देशभर सामान्य देखि पूर्णतया बदली रहनेछ। सुदूर पश्चिम, कर्णाली, गण्डकी, लुम्बिनी र बागमती प्रदेशको पहाडी भू-भागको थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको र सो प्रदेशको उच्च पहाडी र हिमाली भू-भागको धेरै स्थानहरूमा मध्यम देखि भारी हिमपात सम्भावना रहेको छ।
२०७८ मंसिर १७ गते (शुक्रबार)
दिउँसो : देशभर सामान्य देखि पूर्णतया बदली रहनेछ। कर्णाली, गण्डकी, लुम्बिनी र बागमती प्रदेशको पहाडी भू-भागको केही स्थानहरूमा हल्का देखि मध्यम वर्षाको र देशको उच्च पहाडी र हिमाली भू-भागको केही स्थानहरूमा मध्यम देखि भारी हिमपातको सम्भावना रहेको छ।
राती : गण्डकी, लुम्बिनी र बागमती प्रदेशमा सामान्य देखि पूर्णतया बदली रहनेछ। देशका बाँकी भू-भागमा आंशिक देखि सामान्य बदली रहनेछ। गण्डकी, लुम्बिनी र बागमती प्रदेशका थोरै स्थानहरूमा हल्का वर्षाको सम्भावना छ। देशका मध्य र पूर्वी उच्च पहाडी र हिमाली भू-भागको केही स्थानहरूमा मध्यम हिमपातको सम्भावना रहेको छ।
२०७८ मंसिर १८ गते (शनिवार)
दिउँसो : प्रदेश १ मा सामान्य देखि पूर्णतया बदली रही देशका बाँकी भू-भागमा आंशिक देखि सामान्य बदली रहनेछ। प्रदेश १ का पहाडी भू-भागका एक-दुई स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको छ।
राती : प्रदेश १ मा सामान्य देखि पूर्णतया बदली रही देशका बाँकी भू-भागमा आंशिक देखि सामान्य बदली रहनेछ। प्रदेश १ का पहाडी भू-भागका एक-दुई स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको छ।
आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श (Warning/Advisory for next 24 hours)
सुदूर पश्चिम, कर्णाली, गण्डकी, लुम्बिनी र बागमती प्रदेशका पहाडी भू-भागको थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको र देशका उच्च पहाडी र हिमाली भू-भागका धेरै स्थानहरूमा मध्यम देखि भारी हिमपात सम्भावना रहेको र देशभर चिसो बढ्ने क्रममा समेत रहेकोले पर्वतारोहण, हवाई/यातायात लगायत दैनिक जनजीवनमा समेत असर पर्न सक्ने देखिएकोले आवश्यक सुरक्षा एवं सतर्कता अपनाउनु हुन अनुरोध छ ।तसर्थ सम्पूर्णलाई अद्यावधिक मौसमी सूचनाको जानकारी लिन हुन समेत अनुरोध छ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।