काठमाडौं – सञ्चालनमा रहेका अधिकांश वाणिज्य बैंकको ब्याजदर अधिकतम विन्दु १०.०५ प्रतिशतमा पुगेको छ ।
मंसिरका लागि ब्याजदर प्रकाशित गरेका वाणिज्य बैंकको नयाँ ब्याजदर मिल्दोजुल्दो देखिएको छ ।
ब्याजदर निर्धारण गर्नुअगावै राष्ट्रबैंकले ब्याजदर निर्धारणमा नयाँ सर्कुलर जारी गरेपछि धेरै बैंकको निक्षेप ब्याजदर १०.०५ प्रतिशतमा अडिएको छ ।
सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंक, स्ट्यान्डर्ड चार्टर्ड बैंक र मेगा बैंकको भने मुद्दति निक्षेपको ब्याजदर एकल अंकमा रहेको छ । राष्ट्रिय वाणिज्य बैंकको मुद्दती निक्षेपको ब्याजदर सबैभन्दा कम ९.११ प्रतिशत रहेको छ भने स्ट्यान्डर्ड चार्टर्ड बैंकको मुद्दती निक्षेपको ब्याजदर ९.५ प्रतिशत र मेगा बैंकको ९.९६ प्रतिशत छ ।
लक्ष्मी, सिद्धार्थ, प्राइम कमर्सियल, एनएमबी, कुमारी, हिमालयन, सेन्चुरी, माछापुच्छे«, सिभिल, सानिमा, कृषि विकास, सनराइज, ग्लोबल आईएमई, नेपाल, प्रभू, नेपाल बंगलादेश (एनबी), नेपाल एसबीआई बैंकको मुद्दति निक्षेपको अधिकतम ब्याजदर भने १०.०५ प्रतिशत रहेको छ ।
बैंक तथा वित्तीय संस्थाले निक्षेपमा प्रदान गर्ने ब्याजदर निर्धारण गर्दा अघिल्लो महिनाको ब्याजदरमा बढीमा १० प्रतिशतका दरले मात्र परिवर्तन गर्न पाउने गरी नेपाल राष्ट्रबैंकले ३ दिनअघि व्यवस्था गरिसकेको छ । राष्ट्रबैंकले एकीकृत निर्देशन २०७७ मा संशोधन गर्दै ब्याजदरबारे नयाँ सर्कुलर जारी गरेको छ ।
बैंक तथा वित्तीय संस्थाले मंसिरदेखि लागू हुने नयाँ ब्याजदर सार्वजनिक गर्ने तयारी गरिरहेका बेला ब्याजदरबारे राष्ट्रबैंकको नयाँ निर्देशन आएको थियो ।
नयाँ निर्देशनअनुसार इजाजतपत्र प्राप्त बैंक तथा वित्तीय संस्थाले निक्षेपमा प्रदान गर्ने ब्याजदर निर्धारण तथा प्रकाशन गर्दा सम्बन्धित वर्गका सबै संस्थाले अघिल्लो महिना प्रकाशन गरेको अधिकतम ब्याजदरको औसत तथा न्यूनतम ब्याजदर कल निक्षेप बाहेकको औसतमा बढीमा १० प्रतिशतले मात्र परिवर्तन गरी ब्याजदर निर्धारण गर्न सक्ने व्यवस्था गरिएको छ ।
ब्याजदर निर्धारण गर्दा कायम हुने अधिकतम र न्यूनतम ब्याजदर बीचको अन्तर सीमाभन्दा बढी हुन गएमा अधिकतम वा न्यूनतममध्ये एक दर सोही कायम गरी अन्य दर समायोजन गर्नुपर्ने निर्देशनमा उल्लेख गरिएको छ ।
नेपाल राष्ट्रबैंकका गभर्नर महाप्रसाद अधिकारीले पछिल्लो समयमा भएको उच्च कर्जा वृद्धितर्फ संकेत गर्दै बैंकहरुलाई संयमित हुन आग्रह गरेका छन् ।
राष्ट्रबैंकले जारी गर्ने नीति/निर्देशन सरोकारवालासँग छलफल गरी ल्याउने आश्वासन दिँदै प्रथम त्रैमासिक समीक्षाका लागि पेश गरिएका सुझावउपर आन्तरिक छलफल गरी उचित सुझाव कार्यान्वयन गरिने आश्वासन समेत दिएका छन् ।
नेपाल बैंकर्स संघका नवनियुक्त पदाधिकारीहरु तथा पूर्व अध्यक्षहरुसँगको भेटघाटमा गभर्नर अधिकारीले यस्तो बताएका हुन् । संघका नवनियुक्त अध्यक्ष अनिलकुमार उपाध्यायले राष्ट्र बैंकले प्रदान गरेको मार्गदर्शन आगामी दिनमा समेत पाउने अपेक्षा राख्दै संघका तर्फबाट वित्तीय सुशासन, सबलीकरण र अभिवृद्धिमा आफ्ना तर्फबाट भूमिका खेल्ने प्रतिबद्धता जनाए । आजको गोरखापत्र दैनिकमा समाचार प्रकाशित छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।