काठमाडौं – नेपाली सेनाले १० वर्ष सेवा अवधि पूरा गरेका सकल दर्जालाई आवास घर निर्माणका लागि सहुलियत ब्याज दरमा कर्जा उपलब्ध गराउने भएको छ ।
सैनिक सेवामा १० वर्ष पूरा गरेका पति वा पत्नीका नाममा घर नरहेका सकल दर्जालाई सहुलियतपूर्ण ब्याजदर अर्थात् ३.३२ प्रतिशतमा आवास निर्माण गर्न २५ लाख रुपैयाँसम्मको आवास कर्जा उपलब्ध हुने ‘अफर’ ल्याइएको छ ।
सेनाले आवास कर्जाका लागि राष्ट्रिय वाणिज्य बैंकसँग सहकार्य गरेको छ । प्रधानसेनापति प्रभुराम शर्माको उपस्थितिमा राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारिणी अधिकृत, राष्ट्रिय बीमा संस्थानका प्रशासक र नेपाली सेनाका तर्फबाट सैनिक कल्याणकारी महानिर्देशकबीच सहमति पत्रमा हस्ताक्षर भएको छ ।
सकलदर्जाले लामो समयदेखि प्रतीक्षा गरेको सहुलियतपूर्ण आवास कर्जा कार्यान्वयनमा आएपश्चात् कल्याणकारी सेवा सुविधामा समेत बृद्धि भई सैनिक सेवाप्रति आकर्षण बढ्ने अपेक्षा गरिएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जानकारी दिएको छ ।
सेनाले आफ्ना सकल दर्जा तथा हिताधिकारीको सेवा सुविधाको दायरालाई फराकिलो बनाउँदै ६ कक्षादेखि वितरण गर्दै आइरहेको कल्याणकारी छात्रवृत्तिलाई ४ कक्षादेखि नै वितरण गर्न लागेको छ ।
अवकाश प्राप्त सकलदर्जाको मागअनुरूप ६० वर्ष उमेरमाथिको निवृत्तिभरण रकमलाई मासिक १ हजार रुपैयाँ पुर्याएको छ । सेनाले सबै प्रदेशमा सैनिक अस्पताल र महाविद्यालयको सुविधा प्रदान गर्ने उद्देश्यले लुम्बिनी प्रदेशमा समेत सैनिक फिल्ड अस्पताल र सैनिक आवासीय महाविद्यालय स्थापनाको कार्ययोजना अघि बढिरहेको जानकारी दिएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।