काठमाडौं – नेपाली कांग्रेस नेतृत्को कर्णाली प्रदेश सरकारमा तिहारपछि नयाँ मन्त्री नियुक्त हुने भएका छन् ।
मंगलवार कांग्रेसले सरकारको नेतृत्व लिए पनि बीचमा तिहारको बिदा पर्ने भएकाले तिहारपछि मन्त्रिपरिषद् विस्तार गर्ने तयारी छ ।
नेकपा माओवादी केन्द्रका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले राजीनामा दिएपछि नेपाली कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाही मुख्यमन्त्री बनेका छन् ।
मन्त्रिपरिषद् विस्तारका लागि बीचमा सत्ता साझेदारहरूबीच छलफल गर्नुपर्ने भएकाले तिहारअघि हुन नसक्ने नेपाली कांग्रेस कर्णाली प्रदेशसभा दलका प्रमुख सचेतक हिमबहादुर शाहीले जानकारी दिए ।
गठबन्धनभित्र कुन पार्टीले कति मन्त्रालय पाउने भन्ने टुंगो लागेको छैन । कर्णाली प्रदेश सरकारमा नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र नेपाली कांग्रेसको गठबन्धन रहेको छ ।
प्रमुख सचेतक शाहीले भने, ‘दलहरुको साझेदारीमा सरकार हुने भएकाले कसले कति पाउने भन्ने पनि हुन्छ, दलहरुलाई नाम छनोट गर्न पनि समय लाग्छ । यो बीचमा छलफल होला, अरु दुई दलले नाम सिफारिस गर्नुभयो भने तिहारलगत्तै मन्त्रिपरिषद्ले पूर्णता पाउँछ ।’ कर्णाली प्रदेशमा ८ सदस्यीय मन्त्रिपरिषद् हुने भएको छ ।
कर्णाली प्रदेश सरकारमा नेकपा एकीकृत समाजवादीले ३ मन्त्रालयमा दाबी गरेको छ । यसअघिका मुख्यमन्त्री शाहीलाई विश्वासको मत दिने बेला ‘फ्लोर क्रस’ गरेर मन्त्री बनेका समाजवादीका ३ मन्त्रीको पद कात्तिक १५ गतेदेखि स्वतः अन्त्य भएको थियो । ती मन्त्री सांसद नभई ६ महिना मन्त्री बनेको समयावधि सकिएपछि पदमुक्त भएका हुन् ।
यसअघि आफ्ना मन्त्रीहरु भौतिक पूर्वाधार, उद्योग र कृषि मन्त्रालयमा नेकपा एकीकृत समाजवादीको दाबी रहेको छ । कर्णाली प्रदेश सभामा एकीकृत समाजवादीका ३ जना मात्र सांसद रहेका छन् ।
कांग्रेसबाट प्रमुख सचेतक शाही समेत मन्त्रीका आकांक्षी रहेका छन् । कर्णाली प्रदेश सभाका सदस्यहरुमध्ये ज्येष्ठ सदस्य शाहीले कांग्रेसले आफूलाई मन्त्री बनाउने अपेक्षा गरेका छन् । उनले भने, ‘पार्टीले मेरो लामो समयसम्मको योगदानको कदर गर्नेछ भन्ने विश्वास छ, पार्टीले विश्वास गरी मन्त्री बनायो भने म तयार छु ।’
सत्ता साझेदार दलमध्ये कांग्रेसका ६, माओवादी केन्द्रका १२, नेकपा एकीकृत समाजवादीका ३ जना सांसद रहेका छन् ।
कांग्रेसबाट कर्णालीमा यसअघि २ मन्त्री बनिसकेका छन् भने माओवादीबाट मुख्यमन्त्रीबाहेक ४ जना मन्त्री बनेका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।