काठमाडौं – साँखुको सालिनदीस्थित स्वास्थानी माताको मुख्य मूर्तिमा पसिना आएको छ ।
आज शनिवार साँझ ६ बजेतिर नित्य पूजा भइरहेको समयमा माताको मुख्य मूर्तिमा पसिना आएको मन्दिरका पुजारी मधु ढुंगानाले बताएका छन् ।
ढुंगानाका अनुसार मूर्तिको अनुहारबाट बग्ने गरी पसिना आएको र आफूले कपडाले पुछेको जानकारी दिए । उनले भने, ‘म नित्य पूजाका लागि मन्दिरमा पुग्दा पसिना आइरहेको रहेछ । मैले कपडाले पुछें पनि फेरि आयो । मूर्तिको अनुहारबाट बगेको पसिना घाँटीसम्म पुग्यो ।’
स्वस्थानी मातालाई दोस्रोपल्ट पसिना आएको उनले बताए । १ महिनाअघि पहिलोपल्ट पसिना आए पनि अहिले जस्तो नभई सामान्य आएको ढुंगानाले जानकारी दिए ।
पुजारी ढुंगानाले भने, ‘१ महिनाअघि पनि पसिना आएको थियो तर त्यसबेला अहिले जस्तो थिएन । यसपटक बग्ने गरी निकैबेर आयो । पूजा गरेपछि रोकियो । त्यसपछि म हिडें ।’
स्वस्थानीलाई पसिना आएको हल्ला चलेपछि स्थानीय वासिन्दा हेर्न मन्दिरमै पुगेका थिए । स्थानीय कृष्ण लामिछानेले हल्ला चलेपछि आफू पनि हेर्न गएको र जाँदा खलखली पसिना आएको देखेको बताए ।
‘पसिना आयो भन्ने हल्ला चलेपछि म पनि दौडिँदै पुगें । जाँदा खलखली पसिना आइरहेको थियो । स्वस्थानीलाई पसिना आएको मैले पहिलोपटक सुनेको र देखेको हो,’ लामिछानेले भने ।
साँखुका संस्कृतिविद् प्रकाशमान श्रेष्ठले स्वस्थानीलाई पसिना आएको पहिलो घटना सुनेको बताए । उनले भने, ‘स्वस्थानीलाई पसिना आएको कुरा हामीले देखेको र धार्मिक ग्रन्थमा लेखेको पाएका छैनौं । यसपटक आयो । यसको सकारात्क वा नकारात्मक प्रभाव अब देखिएला ।’
दोलखाको भीमसेन, नाला भगवतीलाई बेलाबेलामा पसिना आउने र त्यसपछि देशलाई नै अनिष्ट हुने किंवदन्ती रहेको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।