काठमाडौं - दार्चुलाको व्यास गाउँपालिका–२ का जयसिंह धामी बेपत्ता भएको घटनाको छानबिन गर्न गठित समिति आफैं अनिर्णीत भएको छ ।
समितिले मंगलबार गृहमन्त्री बालकृष्ण खाँणलाई बुझाएको प्रतिवेदनमा महाकाली नदीमा तुइन खुस्काएर धामी बेपत्ता हुनुमा भारतीय एसएसबीका सुरक्षाकर्मीको दोष देखाएको छ । तर, किटानी गर्न सकेको छैन ।
समितिले थप अनुसन्धान गरेर दोषीमाथि कानुनी कारबाही गर्नुपर्ने प्रतिवेदनमा औंल्याएको छ । क–कसले तुइन खुस्काएको हो भन्ने उल्लेखसमेत गरिएको छैन ।
समितिले उक्त घटनामा भारतीय एसएसबीका सुरक्षाकर्मीको संलग्नता रहेको देखिएकाले अनुसन्धान गरी दोषीमाथि कानुनी कारबाही गर्न र जयसिंह धामीका परिवारलाई उचित क्षतिपूर्ति दिन सिफारिस गरेको छ ।
‘पीडित परिवारलाई राहत उपलब्ध गराउन, भारतीय पक्षसँग कूटनीतिक माध्यमबाट पहल गर्न र धामीको परिवारलाई सरकारका तर्फबाट पालनपोषण र शिक्षादीक्षाको व्यवस्थापन गर्नुपर्ने देखिएको छ,’ प्रतिवेदनमा भनिएको छ ।
उक्त घटनाको सत्यतथ्य छानबिन गरेर प्रतिवेदन पेस गर्न गृह मन्त्रालयका सहसचिव जनार्दन गौतमको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरिएको थियो । समितिलाई प्रतिवेदन बुझाउन चौतर्फी दबाब परेपछि अपूरो बुझाइएको स्रोतले बतायो ।

मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।