काठमाडौं – राजधानी काठमाडौं उपत्यकामा रेडियो क्यान्डिड ९२.७ मेगाहर्जको नियमित प्रसारण मंगलबारबाट सुरू भएको छ ।
पेभिलियन मिडिया ग्रूप अन्तर्गतको रेडियो क्यान्डिड काठमाडौं उपत्यका र आसपासका क्षेत्रमा चौबीसै घण्टा प्रसारण हुनेछ । रेडियोले मंगलबार बिहान ६ बजे समाचार प्रसारणबाट सुरू गरेको छ ।
रेडियो क्यान्डिडले स्थानीय रेडियोसँगको सहकार्यमा र आफ्नो प्राविधिक पक्षमा विस्तार गर्दै निकट भविष्यमा देशभर प्रसारण गर्ने लक्ष्य लिएको छ ।
रेडियो क्यान्डिडको प्रसारण सेवा आधिकारिक फेसबुक पेज, ट्विटर, सबैभन्दा बढी डाउलोड हुने एप ‘हाम्रो पात्रो’, खबरहब एप र रेडियो क्यान्डिडको आधिकारिक वेबसाइट डब्ल्युडब्ल्युडब्ल्यु रेडियो क्यान्डिड डटकममा पनि उपलब्ध रहेको छ ।
रेडियो क्यान्डिडको नियमित प्रसारण शुरु भएको अवसरमा पेभिलियन मिडिया ग्रूपका अध्यक्ष नरेश श्रेष्ठले श्रोता, विज्ञापनदाता, शुभेच्छुक तथा परामर्शदाता सबैमा आभार व्यक्त गरेका छन् ।
‘आफ्ना मौलिक कार्यक्रम र दृष्टिकोणका साथ रेडियो क्यान्डिडले चाँडै एउटा नयाँ उचाइ लिनेछ,’ श्रेष्ठले भने ।
रेडियो क्यान्डिड ९२.७ मेगाहर्जले हाल समाचार बुलेटिनहरु प्रसारण गर्दै चाडै अन्य कार्यक्रमहरु नियमित गर्ने भएको छ ।
रेडियोले सूचनामूलक कार्यक्रम, अन्तर्वार्ता, समाजिक आर्थिक मामिला, समसामयिक विषय, खेल, प्रविधि र मनोरञ्जन लगायत अन्य विषयहरु समेट्ने भएको छ ।
रेडियो क्यान्डिडले सरोकारवालासँग संवादको रिक्तता पूरा गर्न एउटा सशक्त मञ्चका रुपमा काम गर्ने जनाइएको छ ।
रेडियोले बिहान ६ बजे, १० बजे, दिउँसो १ बजे, अपराह्न ४ बजे, साँझ ७ बजे र राति ९ बजे आधा घण्टाको मुख्य समाचार बुलेटिन प्रसारण गर्ने जनाइएको छ । प्रत्येक घण्टा संक्षिप्त ‘क्यान्डिड समाचार’ प्रसारण गरिने छ ।
क्यान्डिड बहसमा क्यान्डिड टक, ह्याव अ नाइस डे, भ्वाइस अफ युथ, इकोनमिक टक, क्यान्डिड फटाफट समावेश हुने भएका छन् । विदेशी व्यक्तित्व र विशेषज्ञ पनि हप्ताको १ दिन प्रस्तुत गरिने भएको छ ।
रेडियो क्यान्डिडले ख्यातिप्राप्त केही अन्तर्राष्ट्रिय सञ्चारमाध्यमसँग सहकार्य गर्ने तयारी समेत गरेको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।