काठमाडौं – सत्तारुढ दल नेपाली कांग्रेसका नेताहरुको टोली निर्वाचन आयोग पुगेर मतदाता नामावली दर्तामा सहजीकरण गरिदिन अनुरोध गरेको छ ।
कांग्रेसका केन्द्रीय सदस्य बहादुरसिंह लामा, पूर्व सांसद रामहरि खतिवडा सहितका नेताहरु शुक्रवार आयोगमा पुगेर आफू बसेकै जिल्लाबाट नाम अद्यावधिक गर्न सहयोग गरिदिन अनुरोध गरेका छन् ।
आयोगले कांग्रेसका नेताहरुको मागका विषयमा छलफल गरेर सक्दो सहयोग गर्ने आश्वासन दिएको नेता खतिवडाले जानकारी दिए ।
टोलीले आयोगमा बुझाएको पत्रमा उल्लेख छ, ‘कोरोना महामारीको संक्रमण दिन प्रतिदिन व्यापक रूपमा बढ्दै गएको तथा वर्षात्का कारणले समेत ठाउँ–ठाउँमा बाढीपहिरो गई बाटोहरु अवरुद्ध भएको तथा अन्य विविध कारणहरुले गर्दा जिल्लामा उपस्थित भई फोटो सहितको मतदाता नामावली संकलन गर्न तथा अद्यावधिक गर्ने कार्य गर्न धेरै कठिनाइ हुने व्यहोरा सबैमा अवगत छ ।’
पत्रमा अगाडि उल्लेख छ, ‘नेपाली नागरिक जुन जिल्लामा छन्, सोही जिल्लाबाट आफ्नो नागरिकता भएको जिल्लामा नाम लेखी आफ्नो मतदान केन्द्रमा नामावली दर्ता गर्न सकिने, त्रुटि सच्याउने तथा अद्यावधिक गर्न सकिने व्यवस्था गर्न अनुरोध गर्दछौं ।’
कांग्रेस केन्द्रीय सदस्य बहादुरसिंह लामा, पूर्व सांसद रामहरि खतिवडा, नुवाकोटको किस्पाङ गाउँपालिकाका अध्यक्ष छत्रबहादुर लामा, पर्वतको जलजला गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्ल ‘रामकृष्ण’ सहितका नेताहरु आयोगमा पुगेर पत्र बुझाएका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।