काठमाडौं - नेपाली कांग्रेसका युवा नेता गगन थापाले एमाले वरिष्ठ नेता झलनाथ खनालको उपचार खर्च सरकारले बेहोर्ने निर्णयप्रति आपत्ति जनाएका छन् ।
उनले यस्तो निर्णय कुन कानुनमा टेकेर गरिएको हो भन्दै प्रधानमन्त्री केपी ओलीलाई प्रश्नसमेत गरेका छन्। शनिबार बिहान नेता थापाले सामाजिक सञ्जालमार्फत प्रधानमन्त्रीलाई प्रश्न गरेका छन्, ‘प्रधानमन्त्रीज्यू, पूर्व प्रमको खर्च व्यहोर्ने निर्णय कुन कानुनमा टेकेर गर्नुभयो ?’ पूर्वप्रधानमन्त्री झलनाथ खनालको उपचार खर्च सरकारले बेहोर्ने निर्णय सार्वजनिक भएपछि पूर्वस्वास्थ्यमन्त्रीसमेत रहेका थापाले कुनै पनि व्यक्तिलाई सरकारको ढुकुटीबाट विदेशमा उपचार गरेको एक रुपैयाँ पनि तिर्न नमिल्ने कानुनको स्मरण प्रधानमन्त्री ओलीलाई गराएका हुन्।
२०७४ सालमा ओली सरकारले ल्याएको जनस्वास्थ्य विधेयकमा आफूले नै ‘प्रचलित कानुनमा जुनसुकै कुरा लेखिएको भए तापनि कुनै व्यक्तिलाई विदेशमा उपचार गर्नुपरेमा सोको लागि लाग्ने खर्च नेपाल सरकारबाट उपलब्ध गराइने छैन’ भन्ने संशोधन प्रस्ताव राखेको र यो संशोधन संसदले स्वीकार्दै बनेको कानून २०७५ असोज २ गतेदेखि लागूभएको उनले ओलीलाई स्मरण गराएका छन् ।
‘कानुनले स्पष्ट भन्छ जहाँ जे लेखिएको भए पनि कुनै पनि व्यक्तिलाई सरकारको ढुकुटीबाट विदेशमा उपचार गरेको १ रुपैयाँ पनि तिर्न मिल्दैन’, उनले भनेका छन्।
एमाले अध्यक्ष ओलीले पार्टीका वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री खनालको उपचार खर्च पार्टीले बेहोर्ने घोषणा गरेका थिए। तर, बिहीबार मुख्यसचिव शंकरदाश बैरागीको हस्ताक्षरसहित सार्वजनिक मन्त्रिपरिषद्को निर्णयमा पूर्वप्रधानमन्त्री खनालको सम्पूर्ण उपचार खर्च सरकारले बेहोर्ने उल्लेख छ।
‘पूर्वप्रधानमन्त्री झलनाथ खनालको दिल्लीस्थित अपोलो अस्पतालमा उपचारका क्रममा लागेको सम्पूर्ण खर्च नेपाल सरकारले बेहोर्ने। उक्त खर्च अर्थ मन्त्रालयले परराष्ट्र मन्त्रालयको नाममा निकासा दिने र परराष्ट्र मन्त्रालयले दिल्लीस्थित नेपाली दूतावासमार्फत भुक्तानी गर्ने व्यवस्था गर्ने,’ मुख्यसचिव बैरागीको हस्ताक्षरयुक्त निर्णयमा भनिएको छ।
नेता खनालको उपचार खर्च बेहोर्ने उक्त निर्णय जनस्वास्थ्य सेवा ऐन, २०७५ विपरीत रहेको भन्दै विरोध भइरहेको छ। जनस्वास्थ्य ऐनको दफा ३० ले कुनै पनि व्यक्तिलाई विदेशमा उपचार गराए सरकारी कोषबाट खर्च उपलब्ध गराउन नमिल्ने व्यवस्था गरेको छ। तर, सोही व्यवस्थालाई मिच्दै सरकारले खनालको सम्पूर्ण उपचार खर्च बेहोर्ने निर्णय गरेको हो।
यो पनि पढ्नुहोस्
कानुनविपरीत एमाले नेता खनालको उपचारमा लाग्ने खर्च बेहोर्दै ओली सरकार
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।