काठमाडौं – नेपाली चलचित्र अभिनेत्री जेनी कुँवर ‘जानकी’ले आत्महत्या गरेकी छन् ।
गत वर्षबाट मानसिक तनाव भोगिरहेकी जेनीलाई बिहीवार साँझ करीब ८ बजेतिर काठमाडौं थापागाउँस्थित सनराइज सिटी अपार्टमेन्टको उनकै फ्ल्याटमा झुण्डिएर आत्महत्या गरेको अवस्थामा भेटिएको छ ।
महानगरीय प्रहरी वृत्त बानेश्वरका प्रहरी निरीक्षक केशर न्यौपानेका अनुसार कुँवरको शव सोही अपार्टमेन्टभित्र झुण्डिएको अवस्थामा पाइएको थियो ।
प्रहरीले उनको शवलाई पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज पठाएको छ । प्रारम्भिक अनुसन्धानपछि मुचुल्का तयार गरेर शवलाई पोस्टमार्टमका लागि पठाएको प्रहरीले जनाएको छ ।
कुँवरको पोस्टमार्टम र थप अनुसन्धानपछि आत्महत्याको कारण खुल्ने प्रहरीले जनाएको छ । प्रारम्भिक अनुसन्धान अनुसार मानसिक समस्याका कारण उनले आत्महत्या गरेको हुन सक्ने प्रहरीको अनुमान रहेको छ ।
फिल्मी अभिनय र सांसारिक सुख छाडेर वैराग्य अँगाल्दै साधु जीवनमा लागेकी उनले कसरी आत्महत्या गरिन् भनेर परिवारका सदस्यले प्रश्न उठाएका छन् ।
प्रहरीले घटनापछि जेनीका श्रीमान् मनबहादुरसँग पारिवारिक जानकारी लिएको छ । मानबहादुरले आफ्नी श्रीमती विगत १ वर्षदेखि मानसिक समस्यामा रहेकी र आफूहरुले उनको उपचारसमेत गर्दै आएको बताएका छन् ।
मानसिक समस्या देखिएपछि उनी केही समय विपासनामा बसेको र त्यसपछि साधुका रुपमा पशुपतिमा समेत गएर बस्न थालेको पनि उनका श्रीमानले प्रहरीलाई बताए ।
आफ्नी श्रीमतीले १ वर्षअघिबाट मानसिक समस्याको औषधि सेवन गर्दै आएको र उनलाई खुशी राख्न आफूहरुले सक्दो प्रयास गर्दै आएको पनि श्रीमानले बताए । आफू कामले चाबहिल गएको बेला आत्महत्या गरेको खबर आएपछि घर फर्किएको उनले प्रहरीलाई बताएका छन् ।
जानकी कुँवरको नामले कला यात्रा सुरू गरेकी उनले केही टेली चलचित्र खेलेपछि नयाँ चलचित्र बज्रपातको छायांकनको क्रममा नाम परिवर्तन गरेर जेनी बनाएकी थिइन् । जेनीले बज्रपात र हलचल गरी २ चलचित्रको निर्माण पनि गरेकी थिइन् । यी दुबै फिल्ममा उनी मुख्य भूमिकामा रहेकी थिइन् ।
कुँवरले नायिकाका रूपमा ‘जिन्दगानी’ चलचित्रबाट डेब्यु गरेकी थिइन् । त्यसपछि उनले मैदान, जीवनदाता, कानून, अभिमन्यु, बिन्तीपत्र, मलाई माफ गरिदेऊ लगायतका थुप्रै फिल्ममा अभिनय गरेकी थिइन् ।
उनी पछिल्लो समय धार्मिक गतिविधिमा पनि सक्रिय थिइन् । पशुपतिको वनकाली क्षेत्रमा रहेको कुँवरहरुको कुलायन मन्दिरमा गएर उनी साधुका रुपमा बेलाबेलामा पूजापाठमा समेत व्यस्त हुने गरेकी थिइन् । जसका कारण उनी यूट्युबमा माताका रुपमा भाइरल समेत भएकी थिइन् ।
कुँवरले यसबीचमा सामाजिक कार्यसँगै योग र ध्यान सिकाउने कार्य पनि गर्दै आएकी थिइन् । फिल्मी अभिनय र सांसारिक सुख छाडेर वैराग्य अँगाल्दै साधु जीवनमा लागेकी कुँवरले कसरी आत्महत्या गरिन् भनेर परिवारका सदस्यले प्रश्न उठाएका छन् । आजको राजधानी दैनिकमा समाचार प्रकाशित छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।