काठमाडौं - वैज्ञानिक समाजवादी महिला संगठनले चितवनकी सुजिता भण्डारीको हत्यामा संलग्नको खोजी गरी कडा कारबाही गर्न माग गरेको छ ।
संगठनले बुधबार विज्ञप्ति जारी गरी भण्डारीको अपहरणपछि हत्या घटनाको न्यायिक छानबिन गरी दोषीलाई हदैसम्मको कारबाही गर्न माग गरेको हो ।
‘महिला तथा बालिकामाथिको हत्या, हिंसाजस्ता जघन्य अपराधको विषयलाई राष्ट्रिय मुद्दा बनाउन र घटना हुनै नदिन संघ, प्रदेश र स्थानीय सरकारले तत्काल योजना, कार्यक्रम, नीति सार्वजनिक गरोस्,’ संगठनकी संयोजक धनकुमारी सुनारद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।
चितवन राप्ती गाउँपालिका–३ स्थित बगरटोलकी २२ वर्षीया भण्डारी असार ११ गते बिहानै ६ बजे साथीकहाँ जाने भनेर घरबाट हिँडेको र बाटैमा अपहरणमा परेको सूचना परिवारलाई दिएको देखिए पनि प्रहरी प्रशासनले उनको समयमै उद्धार गर्न नसकेकैले हत्या भएको संगठनले दाबी गरेको छ ।
‘उनको जीवितै उद्धार गर्न नसकेको कारण नौ दिनपछि सुजिता भण्डारी राप्तीस्थित धमिलीमा रहेको ब्रम्हस्थानी सामुदायिक वनमा मृत भेटिइन् । सुजिता भण्डारीको अपहरणपछि हत्या घटनाको न्यायिक छानबिन गरी दोषीलाई हदैसम्मको कारबाहीका लागि सरकारसँग जोडदार माग गर्दछौं,’ विज्ञप्तिमा भनिएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।