काठमाडौं – सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधि सभामाथिको पटक–पटकको हमलाले संसद र संसदीय शासन प्रणालीमाथि प्रहारको आशंका गरेका छन् ।
सभामुख सापकोटाले संसद दिवसको अवसरमा बुधवार दिएको शुभकामना सन्देशमा उल्लेख छ, ‘संविधान सभामार्फत जनताका प्रतिनिधिले बनाएको संविधानको कार्यान्वयनको क्रममा प्रतिनिधि सभामाथिको पटक–पटकको हमलाले संसद र संसदीय शासन प्रणालीमाथि नै प्रहारको आशंका उत्पन्न भएको छ ।’
संसद दिवसले संघीय संसद सदस्य, संविधानसभाका सदस्य, पूर्व सांसद, राष्ट्रसेवक कर्मचारी लगायत सबैमा संवैधानिक सर्वोच्चता र लोकतन्त्रको रक्षाका लागि एकजुट हुन प्रेरणा मिल्ने विश्वास सभामुख सापकोटाले व्यक्त गरेका छन् ।
विक्रम संवत् २०१६ असार १६ गते नेपालमा संसदको पहिलो बैठक बसेको दिनको स्मरणमा हरेक वर्ष यस दिनलाई संसद दिवसको रूपमा मनाउने गरिएको छ ।
संसद दिवस मनाउँदै गर्दा चौतर्फी संकट व्यहोरिरहेको सभामुख सापकोटाको सन्देशमा भनेका छन् । कोरोना महामारी, मौसमजन्य विपत्ति र प्रतिनिधि सभाको दोस्रोपटक विघटन गरिएको विषयलाई सापकोटाले संकटको रूपमा जनाएका छन् ।
मौलिक ढंगले संसदीय परिपाटीको सञ्चालन गर्दै संसदलाई जीवन्त र जनमुखी बनाई लोकतन्त्रको विकास, विस्तार र सुदृढीकरण गरी लोकतन्त्रको लाभलाई जनस्तरसम्म पुर्याउनु आजको आवश्यकता भएको सापकोटाले जनाएका छन् ।

मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।