काठमाडौं – राजधानी काठमाडौं उपत्यकामा जारी निषेधाज्ञालाई खुकुलो बनाउने तयारी भएको छ ।
जिल्ला प्रशासन कार्यालय काठमाडौंमा आईतवार काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीबीच भएको छलफलका क्रममा निषेधाज्ञाको मोडालिटीलाई थप खुकुलो बनाउने गरी परिमार्जन गर्ने विषयमा छलफल भएको छ ।
काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले सार्वजनिक यातायातलाई पनि जोरबिजोरमा सञ्चालन गर्ने कि केही दिन पर्खने भन्नेमा छलफल भएको तर टुंगो भने नलागेको बताएका छन् ।
‘निषेधाज्ञाको मोडालिटीलाई परिमार्जन गर्ने भन्ने विषयमा छलफल भयो, सार्वजनिक सवारीलाई पनि जोरबिजोरमा सञ्चालन गर्ने भन्ने विषय पनि उठेका छन् तर टुंगो लागेको छैन,’ काठमाडौंका प्रमुख जिल्ला अधिकारी (सीडीओ) पराजुलीले भने ।
निषेधाज्ञाको मोडालिटीलाई अब कसरी अघि बढाउने भन्ने विषय थप छलफलपछि सोमवार बस्ने बैठकले टुंगो लगाउने उनले बताए ।
भक्तपुरका सीडीओ प्रेमप्रसाद भट्टराईले सार्वजनिक सवारीसाधनलाई सीमा तोकेर सञ्चालन गर्न दिने विषयमा छलफल भएको जानकारी दिएका छन् ।
भट्टराईका अनुसार यसरी सीमा तोक्दा साना सवारीसाधनभन्दा ठूला र दूरी कायम हुनसक्ने सवारीसाधन सञ्चालन हुन सक्नेछन् । तर सो विषय छलफलपछि मात्रै टुंगो लाग्ने उनले बताए ।
पसल तथा व्यवसाय सञ्चालनका लागि पनि बार अनुसारभन्दा समय निर्धारण गरेर सञ्चालन गर्न दिने विषयमा छलफल भइरहेको छ । यसरी समय निर्धारण गर्दा कुन र कस्ता पसल कुन समयमा खोल्न पाइने भन्ने तोकिने भएको छ ।
राजनीतिक कार्यक्रम, सभा सम्मेलन, विवाह, ब्रतबन्ध, सभा तथा जुलुसजस्ता कार्यक्रम अझै केही समय सञ्चालनमा रोक लगाइने तयारी छ ।
उपत्यकामा कोरोना संक्रमणको दोस्रो लहर सुरू भएसँगै गत बैशाख १६ गतेबाट निषेधाज्ञा कायम रहँदै आइरहेको छ । यसअघि उपत्यकाका तीनै जिल्लाका सीडीओको बैठकले असार ८ गतेबाट निषेधाज्ञाको मोडालिटीलाई थप खुकुलो बनाउँदै निजी यातायातमा जोरबिजोर प्रणाली लागू गरेको हो ।
सोही निर्णयका आधारमा उपत्यकाका ३ वटै जिल्लामा बारका आधारमा पसल व्यवसाय सञ्चालन हुँदै आइरहेको छ । यसरी सञ्चालन गरिने पसल व्यवसायका लागि प्रशासनले समय समेत निर्धारण गरिदिएको छ । आजको राजधानी दैनिकमा समाचार प्रकाशित छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।