काठमाडौं – नेपाली कांग्रेसका लोकप्रिय नेता मीनकृष्ण महर्जनले कम्युनिस्ट प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार भ्रष्ट र तानाशाह रहेकाले परास्त गर्नुको विकल्प नरहेको बताएका छन् ।
पछिल्लो २४ घण्टाका घटनाक्रमले राजनीतिलाई जुवाको खाल नै बनाएको कुरा पुष्टि गरेको उनले बताए ।
‘बादलको पराजय, सर्वोच्चको फैसला र राष्ट्रपतिको नयाँ सरकारका लागि गरेको आदेशले देशको राजनीतिक अवस्था निकै तरल रहेको देखिन्छ,’ नेता महर्जनले भने, ‘जे मन लाग्यो त्यही गर्ने बालहट जस्तो कुर्सीको लागि मरिहत्ते गर्ने, देश र जनताप्रति बेवास्ता गरी देश नै डुबाउने षड्यन्त्रतिर हाम्रो देशको राजनीति अग्रसर रहेको कुरामा दुईमत नहोला ।’
यतिबेला को प्रधानमन्त्री हुनेभन्दा पनि अहिलेको परिवेशमा देशलाई सकारात्मक गति दिन अहिले तानाशाह सरकारको विकल्प खोज्नुपर्ने महर्जनले बताए ।
राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ सरकारको लागि प्रधानमन्त्री केपी शर्मा ओलीको इसारामा आज शुक्रबार ५ बजेसम्मको समय दिएको उनले बताएका छन् ।
‘अब यी लुटतन्त्रको खेती गरिरहेका सामन्तीहरूलाई बिदा गर्ने समय आएको देखिन्छ,’ उनले भने, ‘नेपाली जनताले पनि यही चाहेको छ । सहमतिको सरकारको ढोका खोल्नु जरुरी छ ।’
निर्वाचनले नै अहिलेको राजनीतिको गाँठो फुकाउने कडी रहेको तर केपी ओलीको दाउ भने फेरि संसद भंग गर्ने दिशातर्फ केन्द्रित रहेको कुरालाई नकार्न सकिने अवस्था नरहेको उनले बताए ।
ओली सरकारलाई परास्त गर्न नसकिए देश खाल्डोमा दुब्ने निश्चित रहेको उनले बताए । ‘यदि देशको साँच्चिकै माया छ भने जसपा लगायत सबै दल एकजुट हुनु जरुरी छ,’ उनले भने, ‘यदि देशको साँच्चिकै माया छ भने एकमुठ्ठी माटो हातमा लिएर विदेशीको दबाबमा नपरी देश बचाउन सही निर्णय लिने बेला आएको छ ।’
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।