काठमाडौं - पूर्वपञ्चहरूको पार्टी राप्रपा विस्तारै वामपन्थी कित्तामा उभिन थालेको छ । आफूलाई संवैधानिक राजतन्त्र र हिन्दुराष्ट्रको अनुयायी ठान्ने राप्रपा प्रधानमन्त्री केपी ओलीले देशलाई हिन्दुराष्ट्र घोषणा गरिदिन्छन् भन्ने आसमा माग्दै नमागेको सहयोग दिन तयार भएको छ ।
जेठ ६ गते हुने राष्ट्रिय सभा सदस्य उपनिर्वाचनमा एमालेका उम्मेदवार रहेका गृहमन्त्री रामबहादुर थापा बादललाई राष्ट्रिय प्रजातन्त्र पार्टीले मत दिने निर्णय गरेको छ।
‘एमालेबाट उपनिर्वाचनमा बादललाई मतदान गरी सहयोग गर्न अनुरोध आएकोले राप्रपाका प्रदेश सभा सदस्य, गाउँपालिका अध्यक्ष र उपाध्यक्षलाई मतदान गर्न जानकारी गराइन्छ,’ राप्रपाले भनेको छ। राप्रपाको यो निर्णयले आगामी निर्वाचनमा पनि उसले एमालेसँग कार्यगत एकता गर्न चाहेको देखिन्छ ।
अर्को निर्वाचनमा एमालेसँग सहकार्य गरेमा कम्तीमा तीन–चार सिट जित्न सकिने आकलन राप्रपा नेताहरूको छ । सोही कारण एमालेले सहयोग नमागे पनि राप्रपाले आफैंले एमाले उम्मेदवारलाई भोट दिने निर्णय गरेको बताइन्छ ।
गत पुस ५ गते प्रधानमन्त्री केपी ओलीले प्रतिनिधिसभा विघटन गर्दा पनि राप्रपाले विरोध जनाएको थिएन । सबै पार्टी सडक आन्दोलनमा हुँदा राप्रपा भने एमाले त्यसमा पनि ओली गुटको पक्षमा निरन्तर देखिएको थियो । राप्रपाको निर्णय शृंखला हेर्ने हो भने केही समयपछि त्यो पार्टी एमालेमा विलय हुने सम्भावना प्रबल रहेको विश्लेषण हुन थालेको छ ।
गत निर्वाचनमा एमालेकै सहयोगमा झापा ३ बाट राजेन्द्र लिङ्देन प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए । त्यही गुण तिर्न पनि राप्रपाले एमालेलाई तीन वर्षदेखि निसर्त सहयोग गर्दै आएको छ ।
आगामी निर्वाचनमा झापा ३, मकवानपुर १, सिन्धुपाल्चोक २, बाँके १ मा राप्रपाले एमालेकै सहयोगमा चुनाव जित्ने अपेक्षा राखेको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।