आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

गृहमन्त्री बादलको कोटाका मान्छे राष्ट्रपतिबाट बर्खास्त, ओलीसँग सम्बन्ध बिग्रिएको हो ?

गृहमन्त्री बादलको कोटाका मान्छे राष्ट्रपतिबाट बर्खास्त, ओलीसँग सम्बन्ध बिग्रिएको हो ?

  • मिडिया डबली
  • शनिवार, फाल्गुण ८ २०७७

  • 8.9K
    SHARES

  • गृहमन्त्री बादलको कोटाका मान्छे राष्ट्रपतिबाट बर्खास्त, ओलीसँग सम्बन्ध बिग्रिएको हो ?

    काठमाडौं – २ नम्बर प्रदेशका प्रमुख तिलक परियार शुक्रवार बिहान ७१ औं प्रजातन्त्र दिवसको प्रमुख अतिथिका रुपमा प्रदेश सरकारले जनकपुरमा गरेको कार्यक्रममा सरिक भए ।

    प्रजातन्त्र दिवस मनाएर फर्किएको केहीबेरमा राष्ट्रपति विद्यादेवी भण्डारीले उनलाई पदमुक्त गरेको समाचार आयो । त्यसको एकछिनपछि परियारले राष्ट्रपति कार्यालयबाट औपचारिक इमेल पाए ।

    गृहमन्त्री रामबहादुर थापा ‘बादल’को कोटामा प्रदेश प्रमुख सिफारिस भएका परियारले २०७६ कात्तिक १९ गते शपथ लिएका थिए । ‘हाम्रो झैझगडा र भनाभन पनि होइन, म कुनै गुट/उपगुटमा खुलेको पनि थिइनँ, तटस्थता र निष्पक्षताको भूमिका खेलिरहेको थिएँ,’ परियारले भने, ‘उहाँहरूले प्रतिनिधि सभालाई ‘कु’ गरेको जस्तै एकाएक मलाई पनि ‘कु’ गर्नुभयो ।’

    राष्ट्रपति भण्डारीले संविधानको धारा १६५ (१) को ‘ख’ अनुसार परियारलाई पदमुक्त गरेकी हुन् । संविधानको उक्त धारामा पदावधि समाप्त भएमा या त्यसअघि नै राष्ट्रपतिले पदमुक्त गरेमा प्रदेश प्रमुखको पद रिक्त हुने व्यवस्था छ ।

    राष्ट्रपतिका सञ्चार सल्लाहकार टीका ढकालले सरकारको सिफारिसमा राष्ट्रपतिले परियारलाई पदमुक्त गरी राजेश झालाई नियुक्त गरेको बताए ।

    २०७४ सालमा तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारबाट बाहिरिँदै गर्दा नियुक्त गरेका प्रदेश प्रमुखहरुलाई २०७६ कात्तिक १८ गतेको मन्त्रिपरिषद् बैठकले पदमुक्त गरी परियार लगायतलाई प्रदेश प्रमुख बनाएको थियो । पूर्व माओवादीलाई ३ र पूर्व एमालेलाई ४ वटा प्रदेश प्रमुखको भागबण्डा गरिएको थियो ।

    एमालेको पक्षमा परेका ४ वटै प्रदेश प्रमुखमा प्रधानमन्त्री केपी शर्मा ओलीले आफूपक्षीय नेताहरूलाई मात्रै सिफारिस गरेको भन्दै वरिष्ठ नेता माधवकुमार नेपालले ‘नोट अफ डिसेन्ट’ लेखेका थिए ।

    पूर्व माओवादीको भागमा परेकामध्ये सुदूरपश्चिमको प्रमुख बनेकी शर्मिलाकुमारी पन्त बेपत्ता परिवार, २ नम्बर प्रदेशका परियार दलित र गण्डकीका प्रमुख अमिक शेरचनले जनजाति समुदायको प्रतिनिधित्व गरेका थिए । परियार दलित समुदायबाट प्रदेश प्रमुख बन्ने पहिलो तथा एक मात्रै व्यक्ति थिए ।

    पूर्व माओवादीमै पनि थापाको कोटाबाट प्रदेश प्रमुख बनेका परियार पछिल्लो समय कुनै पनि समूहमा खुलेका थिएनन् । केही समयअघि जनकपुर रेल्वे स्टेसनको उद्घाटन गर्न जनकपुर पुगेका प्रधानमन्त्री ओलीलाई स्वागत गर्न परियार जनकपुर विमानस्थलमा गएका थिए ।

    परियारले संघीय सरकारले आफूअनुकूल व्यक्ति राख्नका लागि आफूलाई हटाइएको हुनसक्ने बताए । ‘पहिलेदेखि नै आफ्नो मान्छेलाई राख्ने उहाँहरूको तयारी थियो । कोही न कोही खाली गराउनुपर्ने थियो,’ परियारले भने, ‘अर्को कुरा २ नम्बर प्रदेशको सरकार संघीय सरकारअनुकूल नभएकाले अग्रगामी परिवर्तनकारीहरूकै सम्बन्ध भयो भने त केन्द्रलाई असहयोग हुने हो कि भन्ने आशंका हुँदै गयो होला, मलाई हटाउनुभयो ।’

    सरकारका प्रवक्ता समेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले मधेश बाहुल्य रहेको २ नम्बर प्रदेशमा मधेशकै समुदायबाट प्रमुख राख्दा उपयुक्त हुने भएकाले यस्तो निर्णय गरिएको बताए । ‘सरकारले कसैलाई हटाउन सक्छ, कसैलाई राख्न सक्छ, नेतृत्व परिवर्तन भइरहन सक्छ,’ उनले भने, ‘मधेशलाई समृद्ध बनाउन मधेशकै व्यक्तित्व पनि चाहिन्छ, त्यसैले हामीले योग्य व्यक्तिलाई नियुक्त गरेका हौं ।’

    गत पुस ५ गतेमा प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटनको निर्णय गरेसँगै व्यवहारतः विभाजित नेकपाको समस्या प्रदेशमा पनि छ । प्रचण्ड–नेपाल नेतृत्वका प्रदेश सांसदले प्रदेश १ र बाग्मती प्रदेशका मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव दर्ता गरे पनि सत्ताकै अवरोधका कारण प्रदेश सभाहरु चल्न सकेका छैनन् ।

    २ नम्बर प्रदेशमा भने पहिलेदेखि नै ओली र नेपाल पक्षका सांसदबीच चर्को मतभेद थियो । तर प्रदेश प्रमुख परियारले कसैको पक्ष वा विपक्षमा बोल्ने र लबिइङ गर्ने गरेका थिएनन् । नेकपा स्थायी कमिटी सदस्य जनार्दन शर्माले परियारलाई विना कारण पदमुक्त गरेर सरकारले पूर्वाग्रहपूर्ण व्यवहार गरेको बताए ।

    ‘यो सरकारको पूर्वाग्रही निर्णय हो, दलित समुदायबाट एक जना मात्रै हुनुहुन्थ्यो, दलित समुदायमाथिको प्रहार पनि हो र समावेशी र समानुपातिक व्यवस्थाविरुद्ध हो,’ शर्माले भने ।

    प्रदेश प्रमुख हुनुअघि नेकपाका केन्द्रीय सदस्य रहेका परियार पुराना वामपन्थी नेता हुन् । २०२८ सालदेखि राजनीति गरेका उनी लामो समय भूमिगत रहे । उनी २०६४ सालको पहिलो संविधानसभामा तत्कालीन एकीकृत माओवादीबाट बाँके क्षेत्र नम्बर १ मा निर्वाचित भएका थिए । दोस्रो संविधानसभा चुनावमा मोहन वैद्य नेतृत्वको माओवादीमा लागेर उनले चुनाव बहिष्कार गरे र पछि रामबहादुर थापाहरूसँगै पुनः माओवादीमा फर्किए ।

    केही दिनअघि नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक गुरु भट्टराई र परियारका स्वकीय सचिव अनिल पासवानबीच भएको टेलिफोन संवाद बाहिरिएको थियो । 

    संवादमा भट्टराईले आफू केपी ओलीको छोरा भएको बताएका थिए । संवादमा दुबै जनाले अश्लील शब्द प्रयोग गरेका थिए ।

    नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले परियारलाई हटाइनु सरकारले गरिरहेको सेटिङको अर्को शृंखला भएको बताएका छन् । पेरिसडाँडामा केन्द्रीय कमिटी बैठक चलिरहेका बेला उक्त खबर थाहा पाएपछि प्रचण्डले प्रतिगमन र सेटिङको सिलसिला जारी रहेको भन्दै थप सशक्त प्रतिरोध गर्नुपर्ने बताएका थिए ।

    ‘२ नम्बर प्रदेश प्रमुख तिलक परियारलाई पदमुक्त गरिनु निरंकुशता र संविधानको हुर्मत लिने नीचताको पराकाष्ठाका साथै सम्पूर्ण दलित समुदायमाथि नै अपमान हो,’ उनको भनाइ उद्धृत गर्दै स्वकीय सचिव गंगा दाहालले शुक्रवार साँझ फेसबुकमा लेखेकी छन् ।

    कांग्रेसले पनि परियारलाई हठात् हटाउने सरकारको निर्णयको विरोध गरेको छ । प्रवक्ता विश्वप्रकाश शर्माले प्रदेश २ प्रमुखको बर्खास्ती र नयाँ नियुक्तिको विरोध गरे ।

    ‘अघिल्लो सरकारको पालामा प्रक्रियाबमोजिम गरिएको नियुक्तिलाई गत वर्ष बदर गरेर सरकारले स्वेच्छाचारी ढंगले नियुक्ति गरेको थियो । आज फेरि त्यही प्रवृत्ति दोहोर्‍याएर सरकारले एकातर्फ प्रदेश प्रमुखको गरिमा थप घटाउँदै जाने कर्म गरेको छ भने निर्वाचन घोषणा भएको छ भनेर दलको विवाद निरुपण नगर्न निर्वाचन आयोगलाई आन्तरिक दबाब दिने सरकार बर्खास्त र नियुक्तितर्फ लाग्नु नैतिक आचारको दृष्टिले समेत अत्यन्तै गलत र आपत्तिजनक छ,’ शर्माले भने, ‘संसद् विघटनको असंवैधानिक कदमपश्चात् कामचलाउ स्थितिमा पुगेको सरकारले यसरी बर्खास्त, नियुक्ति आदि काम गर्न विल्कुलै मिल्दैन र पाइन्न ।’ आजको कान्तिपुर दैनिकमा समाचार प्रकाशित छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७१०:३३:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend