गोरखा - गोरखाको चुमनुब्री गाउँपालिका–३ स्थित न्याक्चेत र फिलिम बजार जोड्ने पुल बूढीगण्डकी नदीमा आएको बाढीले बगाएको छ। नदीको बहाव निरन्तर बढिरहेको र घट्टेखोला क्षेत्रमा केही घरभित्र लेदोसहितको पानी पसेपछि स्थानीय बासिन्दामा जोखिम बढेको छ।
गृहमन्त्री सुधन गुरुङका अनुसार बाढीबाट प्रभावित क्षेत्रमा उद्धार, राहत तथा स्थानीय बासिन्दालाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र स्थानीय प्रशासन परिचालन गरिएको छ।
उद्धार तथा राहत कार्यलाई प्रभावकारी बनाउन हेलिकप्टरसमेत घटनास्थलमा परिचालन गरिएको गृहमन्त्री गुरुङले जानकारी दिएका छन्।
बूढीगण्डकी नदीको बहाव बढिरहेको अवस्थामा नदी किनार तथा तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई तत्काल सुरक्षित स्थानमा जान आग्रह गरिएको छ। गृहमन्त्री गुरुङले सिर्दिबास, जगत्, सल्लेरी, खोलबेँसी, माछाखोला, सोती, आर्खेत र आरुघाट क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन अनुरोध गरेका छन्।
बाढीका कारण पुल बग्नुका साथै बस्तीमा लेदोसहितको पानी पसेपछि थप क्षति हुन नदिन सुरक्षा निकाय र स्थानीय प्रशासनले उद्धार तथा राहतका काम अघि बढाएका छन्। बाढीबाट भएको अन्य क्षतिको विस्तृत विवरण भने आउन बाँकी छ।
आपत्कालीन सहायता आवश्यक परे गृह मन्त्रालयको १२३४ नम्बरमा सम्पर्क गर्न गृहमन्त्री गुरुङले आग्रह गरेका छन्।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।