काठमाडौं – केही दिनअघि गण्डकी प्रदेशमा राष्ट्रिय जनमोर्चाका सांसद खिमविक्रम शाहीको अपहरण भएको आरोप लागेको घटना सेलाउन नपाउँदै लुम्बिनी प्रदेशमा समेत नेकपा माओवादी केन्द्रले नेकपा एमाले सांसद विमलाकुमारी खत्रीको अपहरण गरेको गम्भीर आरोप लगाइएको छ ।
नेकपा एमालेसँग ४१ सांसदसहित प्रदेशसभामा एकल बहुमत रहेको चर्चाबीच एकाएक सांसद विमलाकुमारी खत्रीले आफू माओवादीमा प्रवेश गरेको विज्ञप्ति सार्वजनिक भएपछि एमालेले सांसद खत्रीको अपहरण भएको आरोप लगाएको छ ।
एमालेका लुम्बिनी प्रदेशसभा प्रमुख सचेतक भूमिश्वर ढकालले एमाले पार्टीकी सांसद विमला खत्री वलीलाई दलको बैठकमा आउँदा–आउँदै माओवादीले अपहरण गरेको आरोप लगाएका छन् ।
ढकालले भने, ‘विमला कमरेड अपरहणमा पर्नुभएको छ । उहाँलाई माओवादीले अपहरण गरेको छ । यसमा हाम्रो घोर आपत्ति छ । यस घटनाको निन्दा गर्छौं । सांसद खोजी गर्न स्थानीय प्रहरीमा उजुरी समेत दिइसकेका छौं ।’
जननिर्वाचित सांसद विमलालाई अपहरण शैलीमा लुकाएर राख्नु उचित नभएको प्रतिक्रिया प्रमुख सचेतक ढकालले दिएका छन् ।
सांसद विमलाले आफू नेकपाबाट निर्वाचित भएको र सर्वाेच्चको फैसलापछि नेकपा अस्तित्वमा नरहेकाले आफू माओवादी केन्द्रमा प्रवेश गरेको स्पष्ट पारेकी छन् । आईतवार प्रेस विज्ञप्ति जारी गर्दै सांसद वलीले आफू माओवादी केन्द्रमा सक्रिय हुने स्पष्ट पारेकी छन् ।
सांसद विमलाले माओवादी केन्द्रको प्रदेश संसदीय दल, माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र लुम्बिनी प्रदेशसभामा आफू माओवादीतिर लागेको पत्राचार गरेकी छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।