काठमाडौं – गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध अविश्वासको प्रस्ताव निर्णयार्थ पेश हुनै लागेका दिन प्रदेशसभा सदस्य खिमविक्रम शाहीलाई बेपत्ता पारिएकोबारे नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले पर्दाफास गरेका छन् ।
प्रवक्ता शर्माले गण्डकी प्रदेशसभा सदस्य खिमविक्रम शाहीलाई सरकारले नै बन्दी बनाएको दाबी गर्दै आपत्ति प्रकट गरेका छन् । बुधबार मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध दर्ता भएको अविश्वासको प्रस्तावको पक्षमा मतदान गर्ने निर्णय गरेको राष्ट्रिय जनमोर्चाका सांसद शाही अकस्मात बेपत्ता पारिएका थिए ।
सांसद शाही प्रदेशसभा बैठकमा उपस्थित नभएपछि प्रदेशसभा बैठक अनिश्चितकालका लागि स्थगित भएको छ ।
शाहीको सचिवालयले उनी बिरामी भएकोले पोखराकै चरक मेमोरियल अस्पतालमा भर्ना भएको जानकारी दिएको छ । तर मंगलबार मात्रै पीसीआर परीक्षण गराएका शाहीको रिपोर्ट नेगेटिभ आएको खुलासा प्रवक्ता शर्माले गरेका छन् ।
प्रवक्ता शर्माले कोभिड रिपोर्टसहित सरकारले गुण्डागर्दी गरेर सांसदलाई बन्दी बनाएको गम्भीर आरोप लगाएका छन् ।

प्रवक्ता शर्माले ट्विटरमा लेखेका छन्, ‘यो हेर्नुस् गण्डकी प्रदेश सांसद खिमविक्रम शाहीको कोभिड परीक्षण नेगेटिभ आएको रिपोर्ट ! स्वस्थ, तन्दुरुस्त मान्छेलाई पृथ्वीचोकको चरक अस्पतालको आईसीयूमा कसैलाई भेट्न नदिएर किन राखिएको छ ? उपचारका नाममा बन्दी ? अविश्वासमा मत दिन रोक्ने नाममा सत्ता संरक्षित गुण्डागर्दी ?’
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।