काठमाडौं – मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ विरुद्धको अविश्वासको प्रस्ताव निर्णयार्थ पेश हुने दिन आज बुधबार गण्डकी प्रदेश सभाका राष्ट्रिय जनमोर्चाका सांसद खिमविक्रम शाहीको अवस्था अज्ञात भएको छ ।
सांसदको अवस्था अज्ञात रहेकोबारे पार्टीकी सचेतक पियारी थापाले सभामुखसक्षम निवेदन दिएर संसदको कारवाही रोक्न माग गरेकी छन् ।
सांसद शाहीको जीवन रक्षा गर्न र अवस्था सार्वजनिक नभएसम्म सदनको कारवाही अगाडि नबढाउन भन्दै सचेतक थापाले सभामुख नेत्रनाथ अधिकारीलाई निवेदन दिएकी हुन् ।
‘उहाँको अवस्था अज्ञात रहेको छ । फोन पनि उठेको छैन, कोठामा पनि ताला लगाइएको छ,’ सचेतक थापाले बताइन्, ‘उहाँका स्वकीय सचिवलाई पनि फोन गरेर बुझेको थिएँ । स्वकीय सचिवले हिजो दिउँसोदेखि सम्पर्क हुन सकेको छैन भन्ने जानकारी दिए ।’
मुख्यमन्त्री गुरुङविरुद्ध प्रदेश सभामा अविश्वासको प्रस्ताव आएको र पार्टीले विपक्षमा मतदान गर्ने निर्णय गरेको अवस्थामा प्रदेशसभा सदस्यको अवस्था अज्ञात हुनु शंकास्पद रहेको भन्दै प्रदेश सभामा आवाज उठेको छ । सांसद नै अज्ञात भएपछि प्रदेशसभामा सन्नाटा छाएको छ ।
‘सभामुखलाई माननीय शाहीको अवस्था सार्वजनिक नहुञ्जेलसम्म सदनको कारवाही रोक्नेबारे र उहाँको जीवन रक्षा गर्नका साथै अवस्था सार्वजनिक गर्न माग गर्दै निवेदन दर्ता गराएकी छुँ,’ थापाले भनिन् ।
मुख्यमन्त्री गुरुङ विरुद्धको अविश्वास प्रस्तावको अगुवाई गरेका माओवादी केन्द्रका प्रदेशसभा सदस्य हरिबहादुर चुमानले हिजो मंगलवार कोरोना परीक्षणका लागि स्वाब दिने बेलासम्म सकुशल रहेका शाहीको अवस्था अज्ञात हुनु शंकास्पद रहेको बताएका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।