काठमाडौं – भारत सरकारको ९ करोड ८३ लाख रुपैयाँ आर्थिक सहयोगमा निर्माण सम्पन्न रम्भा उच्च माध्यमिक विद्यालय, लक्ष्मी उच्च माध्यमिक विद्यालय र नव आदर्श बहुमुखी क्याम्पसका नवनिर्मित भवनको बिहीबार र शुक्रबार भारतीय राजदूतावासको विकास साझेदारी तथा पुनर्निर्माण प्रभागका प्रथम सचिव करुण वंशल, जिल्ला समन्वय समिति पाल्पा, विद्यालय व्यवस्थापन समिति र स्थानीय प्रतिनिधिले भर्चुअल माध्यमद्वारा उद्घाटन गरेका छन् ।
पाल्पा जिल्लाको ताहुँ गाउँ विकास समितिमा सन् १९५२ मा माध्यमिक विद्यालयको रूपमा स्थापना भएको रम्भादेवी उच्च माध्यमिक विद्यालय सन् २००२ मा उच्च माध्यमिक तहमा स्तरोन्नत भएको थियो । हाल विद्यालयमा ६७५ विद्यार्थीहरू अध्ययनरत छन्, जसमा ५५ प्रतिशत छात्राहरू छन् ।
‘नेपाल–भारत विकास सहकार्य’ कार्यक्रम अन्तर्गत भारत सरकारको ३ करोड २१ लाख अनुदानमा निर्मित यस ३ तल्ले विद्यालय भवनमा १७ वटा कक्षाकोठा, गोष्ठी, कम्प्युटर, प्रधानाध्यापक, लेखा, कर्मचारी, प्रयोगशाला र अनुसन्धानका लागि १–१ वटा कक्ष, कम्पाउन्ड वाल, फर्निचर तथा छात्र छात्राका लागि छुट्टाछुट्टै सरसफाई संरचनाको सुविधा रहनेछन् ।
जिल्ला समन्वय समिति पाल्पाले विद्यालय भवनको निर्माण कार्यको अनुगमन गरेको थियो ।
पाल्पा जिल्लाको तानसेन–५ बन्दीपोखरामा सन् १९६३ मा प्राथमिक विद्यालयको रूपमा स्थापना भएको लक्ष्मी उच्च माध्यमिक विद्यालय सन् २००८ मा उच्च माध्यमिक विद्यालयमा स्तरोन्नत भएको थियो । हाल विद्यालयमा ३५० विद्यार्थीहरू अध्ययनरत छन्, जसमा ५५ प्रतिशत छात्राहरू छन् ।
‘नेपाल–भारत विकास सहकार्य’ कार्यक्रम अन्तर्गत भारत सरकारको ४ करोड १३ लाख रुपैयाँ अनुदानमा निर्मित २ तल्ले विद्यालय भवनमा ८ वटा कक्षाकोठा, २ वटा कार्यालय कक्ष, २ वटा प्राध्यापक कक्ष, कमन रुम सहितको २२ शय्याको होस्टल भवन, चर्पी, पानी ट्यांकी, फर्निचर तथा छात्र छात्राका लागि छुट्टाछुट्टै सरसफाई संरचनाको सुविधा रहनेछन् ।
जिल्ला समन्वय समिति पाल्पाले विद्यालय भवनको निर्माण कार्यको अनुगमन गरेको थियो ।
त्रिभुवन विश्वविद्यालय काठमाडौंबाट सम्बन्धन प्राप्त नव आदर्श बहुमुखी क्याम्पस पाल्पा जिल्लाको देउरालीमा सन् २००६ मा स्थापना भएको हो । क्याम्पसले कृषिको प्राविधिक कोर्स र व्यवस्थापन तथा शिक्षा विषयमा डिप्लोमा तहका कार्यक्रमहरू सञ्चालन गरिरहेको छ ।

हाल क्याम्पसमा ३० विद्यार्थी अध्ययनरत छन्, जसमा ९० प्रतिशत छात्राहरू रहेका छन् । ‘नेपाल–भारत विकास सहकार्य’ कार्यक्रम अन्तर्गत भारत सरकारको २ करोड ४८ लाख अनुदानमा निर्मित यस २ तल्ले क्याम्पस भवनमा १३ वटा कक्षाकोठा, पुस्तकालय, प्रयोगशाला, कम्प्युटर, क्याम्पस प्रमुख, लेखा र प्राध्यापक, फर्निचर तथा कार्यालय उपकरण तथा छात्र छात्राका लागि छुट्टाछुट्टै सरसफाई संरचनाको सुविधा रहनेछन् । जिल्ला समन्वय समिति, पाल्पाले विद्यालय भवनको निर्माण कार्यको अनुगमन गरेको थियो ।
भारतले नेपालमा ४४८ वटा उच्च प्रभाव सामुदायिक विकास परियोजनाहरू सम्पन्न गरिसकेको छ । जसमध्ये पाल्पा जिल्लाका ७ वटासहित प्रदेश नम्बर ५ मा ४१ वटा परियोजनाहरू छन् । पाल्पा जिल्लाको एउटा परियोजनासहित प्रदेश नम्बर ५ मा भारत सरकारको आर्थिक सहयोगमा सञ्चालित ९ वटा परियोजनाहरू निर्माण र कार्यान्वयनका विभिन्न चरणमा रहेका छन् ।
यीबाहेक पाल्पा जिल्लाका विभिन्न स्वास्थ्य चौकी, गैरसरकारी संस्था तथा शैक्षिक संस्थालाई भारतीय राजदूतावासले १२ वटा एम्बुलेन्स र २ वटा स्कूल बस उपहारस्वरूप प्रदान गरिसकेको छ ।
नवनिर्मित संरचनाले विद्यार्थीको सिकाइ वातावरणलाई अभिवृद्घि गर्ने अपेक्षा गरिएको छ । ‘परियोजनासँग जोडिन पाएकोमा भारत सरकार अत्यन्तै हर्षित छ । परियोजनाले शिक्षाको क्षेत्रमा पूर्वाधार सुदृढ गर्ने नेपाल सरकारको प्रयासलाई पूर्णता प्रदान गरेको छ,’ दूतावासद्वारा प्रेषित विज्ञप्तिमा उल्लेख छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।