काठमाडौं - गत आइतबार काठमाडौं घोडेजात्रा बनाउन व्यस्त थियो । त्यसैबेला जसपा अध्यक्ष महन्थ ठाकुर भने काठमाडौंको एक पाँचतारे होटेलमा महत्वपूर्ण भेटघाटमा थिए ।
दलहरूबीच प्रधानमन्त्री केपी ओलीको विकल्प खोज्नुपर्ने प्रयास भइरहेका बेला महन्थले बीजेपी नेतालाई भेटेपछि जसपामा तरंग सिर्जना भएको छ ।
भारतीय जनता पार्टीका सांसद काठमाडौं आएर महन्थ ठाकुरसँग सुटुक्क भेटेर नयाँ दिल्ली फर्किंदासमेत जसपाका नेताहरू डा.बाबुराम भट्टराई, उपेन्द्र यादव, अशोक राईहरूले पत्तो पाएनन् ।
स्रोतका अनुसार घोडेजात्राको दिन काठमाडौंमा उत्रिएका उत्तर प्रदेश, कानपुरका बीजेपी सांसद देवेन्द्र सिंह भोलेले महन्थलाई आफू बसेको र्याडिसन होटेलमा करिब एक घन्टा भेटेका थिए ।
गत आइतबार दिउँसो एअर इण्डियाको उडानबाट नेपाल आएका सिंहले ठाकुरसँग मंगलबार बिहान सवा ११ देखि झण्डै १२ बजेसम्म भेटेर कुराकानी गरेका थिए । ठाकुरसँगको भेटलगत्तै भोले सवा १ बजे होटलबाट निस्केर सोझै विमानस्थल गएको बताइन्छ ।
भोले र ठाकुरबीचको वार्तामा मुलुकको पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल भएको बुझिएको छ । त्यही भेटको प्रभावअनुसार बिहीबार जसपा अध्यक्ष ठाकुर र प्रधानमन्त्री केपी ओलीबीच बालुवाटारमा सत्ता सहकार्यको प्रयासअनुरुप वार्ता भएको थियो ।
उच्च स्रोतका अनुसार जसपाका बाबुराम र उपेन्द्रको असहमतिका बाबजुद पनि महन्थ र राजेन्द्र महतो पक्ष ओली सरकारमा सामेल हुने भएको छ । त्यसको संकेत बिहीबार राजेन्द्र महतोले धनुषा पुगेर दिएका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।