काठमाडौं – सरकारमा सहभागी हुने विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीसँग छलफल गरिरहेका जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष महन्थ ठाकुरले ‘क्यास’ मागेका छन् ।
राष्ट्रिय लोकतान्त्रिक प्राध्यापक संघले बुधबार आयोजना गरेको १३ औं वार्षिकोत्सव तथा संगठन समायोजन कार्यक्रममा बोल्दै अध्यक्ष ठाकुरले सरकारले माग पूरा नगरेसम्म सरकारमा जाने कुनै सम्भावना नरहेको स्पष्ट पारेका छन् ।
‘यसपटक चेक होइन, क्यास मात्र लिन्छौं, छलफल गर्दा सबै दलले माग पूरा गर्ने प्रतिवद्धता जनाए पनि कार्यान्वयन कसैले गरेका छैनन्,’ ठाकुरले भने, ‘देशमा एकता र सुरक्षाको आवश्यकता छ । अहिले परिणामको आवश्यकता छ । यसका लागि बौद्धिक समाज लगनशील भएर लाग्नुपर्छ ।’
अध्यक्ष ठाकुरले जसपाले आफ्नो अधिकारका लागि आन्दोलन गरिरहेको र माग पूरा गराउनका लागि हरेक दलसँग कुरा गर्दै आएको बताएका छन् ।
अध्यक्ष ठाकुरले विभिन्न दलसँग आफ्नो माग पूरा गराउनका लागि कुराकानी गरिरहेको तर सकारात्मक नतिजा नआएको बताएका छन् । संविधान संशोधन, आन्दोलनका क्रममा पक्राउ परेकालाई रिहाइ, नागरिकता लगायतका मुद्दाका विषयमा सरकार तथा अन्य दलसँग कुराकानी गरिरहेको ठाकुरले बताएका छन् ।
अध्यक्ष ठाकुरले उपेक्षित समाजका लागि सरकार नभएको बताउँदै सरकारबाट नै जनता पीडित रहेको बताएका छन् । मधेश आन्दोलनमा लागेको कारण करीब १ हजार २०० जनामाथि सरकारले मुद्दा चलाएको ठाकुरले बताएका छन् ।
‘हाम्रो पीडालाई सरकारले सम्बोधन गरिरहेको छैन,’ ठाकुरले भने, ‘हाम्रा थुप्रै मान्छे जेलमा छन्, मन्त्रीमाथि मुद्दा छन्, सांसद जेलमा छन्, यी सबै मुद्दाहरू खारेज गर्नुपर्छ ।’
प्रधानमन्त्री लगायतका व्यक्तिलाई भेट्दा रेशम चौधरी लगायतका व्यक्ति दोषी नभएको बताए पनि जेलबाट छाड्न नसकेको ठाकुरले बताए । नेपालमा अहिले राजनीतिक द्वन्द्व चलिरहेको बताउँदै ठाकुरले दलको आन्तरिक द्वन्द्वका कारण सरकार अप्ठ्यारोमा परेको बताएका छन् ।
‘संविधानमा संशोधनको आवश्यकता छ भनि ३ ठूला दलले भनिरहेका छन् तर संशोधन गरिहेको छैन । संविधान अनुसार कुनै पनि काम हुँदा त्यसमा विवाद हुने गरेको छ । हरेक धारामा कुनै न कुनै समस्या छ । त्यसका लागि पनि संविधान संशोधनको आवश्यकता छ,’ ठाकुरले भनेका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।