आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

महन्थ ठाकुरलाई प्रधानमन्त्री दिन केपी ओली तयार, बाबुराम र उपेन्द्र मान्छन् ?

महन्थ ठाकुरलाई प्रधानमन्त्री दिन केपी ओली तयार, बाबुराम र उपेन्द्र मान्छन् ?

  • मिडिया डबली
  • शनिवार, फाल्गुण २९ २०७७

  • 7.2K
    SHARES

  • महन्थ ठाकुरलाई प्रधानमन्त्री दिन केपी ओली तयार, बाबुराम र उपेन्द्र मान्छन् ?

    काठमाडौं – जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष महन्थ ठाकुरलाई प्रधानमन्त्रीमा प्रस्ताव गर्न आन्तरिक छलफल सुरू भएको छ ।

    शुक्रवार बसेको जसपाको संयुक्त संसदीय दलको बैठकमा बोल्ने सांसदमध्ये आधाजसोले यसपटक जसपा आफैंले सरकारको नेतृत्व दाबी गर्नुपर्ने सुझाव राखेका थिए । 

    सरकारको नेतृत्व गर्ने अवसर आएमा जसपाले ठाकुरलाई अघि सार्ने पार्टीका नेताहरुले जनाएका छन् ।  

    शुक्रवार बसेको संसदीय दल बैठकको अध्यक्षता ठाकुरले गरेका थिए । यद्यपि जसपाले अझै संसदीय दलको नेता चयन गर्न गरिसकेको छैन । दलको नेता चयन नभएसम्म ठाकुरले बैठकको अध्यक्षता गर्ने सहमति भएको छ ।

    दलको बैठकमा शरतसिंह भण्डारी, महेन्द्र यादव, प्रदीप यादव लगायतले यसपटक पार्टी आफैं सरकारको नेतृत्व गर्न तयार हुनुपर्ने धारणा राखे । ‘हामी विभिन्न विकल्पमा छलफल गरिरहेका छौं । सरकारको नेतृत्व गर्न पनि हामी तयार हुनुपर्छ भन्ने सुझाव धेरै साथीबाट आएको छ,’ बैठकपछि नेता भण्डारीले भने, ‘यसबारे पार्टीभित्र आन्तरिक छलफल प्रारम्भ भएको छ ।’

    जसपाका अर्का सांसद प्रदीप यादवले यसपटक जसपाले सरकारको नेतृत्व दाबी गर्ने बताए । ‘हामीले अहिलेसम्म अरुलाई सहयोग गर्‍यौं । यसपटक हामी आफैंले सरकारको नेतृत्व लिनुपर्छ भन्ने सुझाव पार्टीभित्र बलियो भएको छ,’ उनले भने ।

    स्रोतका अनुसार बैठकमा जसपा संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले भने पार्टी सरकारमा जान नहुने सुझाव राखेका थिए । उनले सरकारमा जानुभन्दा पनि पार्टीका मुद्दालाई प्राथमिकता दिनुपर्ने बताएका छन् ।

    प्रमुख सचेतक उमाशंकर अरगरैयाले संसदीय दलको बैठकमा विभिन्न एजेन्डामा छलफल भएको बताए । ‘साथीहरुले विभिन्न धारणा राख्नुभयो । सरकारको नेतृत्व गर्ने विषयमा पनि कुरा उठेको छ,’ उनले भने । एक वर्षअघि राष्ट्रिय जनता पार्टी र समाजवादी पार्टीबीच एकीकरण भई जसपा गठन भए पनि दुबै पार्टीका संसदीय दल अझै अलग–अलग छन् । शुक्रवार दुबै पार्टीको संयुक्त संसदीय दलको बैठक बोलाइएको थियो । दलको बैठक बस्नुअघि जसपाका शीर्ष नेताहरूले छलफल गरेका थिए ।

    जसपाका नेताहरुले बिहीवार साँझ प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरेका थिए । प्रधानमन्त्री ओलीसँगको भेटपछि जसपाले सरकारको नेतृत्वको विषयमा आन्तरिक छलफल सुरू गरेको छ । ठाकुर निकटका जसपा नेता डा. सुरेन्द्र झाले भेटमा प्रधानमन्त्री ओलीले ठाकुरलाई घुमाउरो भाषाबाट प्रधानमन्त्रीका लागि प्रस्ताव गरेको बताएका छन् ।  

    ‘प्रधानमन्त्रीज्यूले ठाकुरजीलाई देशलाई तपाईंलाई आवश्यकता छ । सरकारको नेतृत्व लिने स्थिति पनि आउन सक्छ भन्नुभएको छ,’ झाले भने, ‘यो भनेको ठाकुरजीलाई प्रधानमन्त्रीको प्रस्ताव गरिएको आशयको रूपमा हामीले बुझन सक्छौं ।’

    संसदीय दलको बैठकपछि जसपाका नेताले कांग्रेससँग पनि छलफल गरेका थिए । माओवादी केन्द्रसँग पनि छलफल सुरू गर्ने जसपाका नेताहरुले जनाएका छन् । जसपा स्रोतका अनुसार सरकारमा जाने वा सरकारको नेतृत्व गर्ने विषयमा जसपामा दुईमत छ । 

    भट्टराई र उपेन्द्र यादव माओवादी केन्द्रसँग मिलेर सरकार बनाउनुपर्ने पक्षमा छन् भने ठाकुर र राजेन्द्र महतो एमालेसँग मिलेर समीकरण बनाउने पक्षमा रहेका छन् । 

    स्रोतका अनुसार पार्टीभित्र अहिले ठाकुर र महतोको मत बलियो देखिएको छ । ‘महन्थलाई प्रधानमन्त्रीको प्रस्ताव आयो तर पार्टीभित्रै अवरोध गर्न खोजियो भने हामी पार्टी फुटाउन पनि तयार छौं,’ ठाकुर निकटका एक नेताले भने । आजको नागरिक दैनिकमा समाचार प्रकाशित छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७१०:३३:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend