आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

महन्थ ठाकुर र वर्षमान पुनबीच भएको त्यो गोप्य भेट !

महन्थ ठाकुर र वर्षमान पुनबीच भएको त्यो गोप्य भेट !

  • मिडिया डबली
  • शनिवार, चैत्र ७ २०७७

  • 12.9K
    SHARES

  • महन्थ ठाकुर र वर्षमान पुनबीच भएको त्यो गोप्य भेट !

    काठमाडौं – नयाँ सत्ता समीकरण निर्माणका विषयमा पार्टीका शीर्ष नेता २ कित्तामा बाँडिएपछि जनता समाजवादी पार्टीका २ समूहले छुट्टाछुट्टै बैठक गरेका छन् ।

    पूर्व समाजवादी पार्टीका नेताले पार्टी कार्यालय बालकुमारीमा शुक्रवार बैठक गरेका छन् । पूर्व राष्ट्रिय जनता पार्टी नेपालका नेताले भने बिहीवार नै छुट्टै बैठक गरिसकेका छन् ।

    तत्कालीन राजपा र समाजवादी पार्टीबीच एकीकरण हुनुअघि समाजवादी पार्टीको कार्यालय बालकुमारीमा रहेको थियो । एकीकरणपछि पनि जसपाको कार्यालय बालकुमारीमै राखिएको छ । बालकुमारीमा आयोजित भेलामा पूर्व समाजवादीका नेताहरुलाई मात्र बोलाइएको पूर्व समाजवादीका सचिव इस्तियाक राईले बताएका छन् ।

    ‘बिहीवार पूर्व राजपाले भेला बोलायो भन्ने सुन्यौं । शुक्रबार हामीले बैठक बोलायौं,’ राईले भने, ‘हामीले बोलाएको बैठक समायोजनको विषयमा केन्द्रित थियो ।’ बैठकमा पूर्व समाजवादीका सबै शीर्ष नेताको उपस्थिति रहेको थियो ।

    पूर्व राजपाले बिहीवार साँझ इन्द्रेणी फूडल्यान्डमा भेला बोलाएको थियो । भेलामा तत्कालीन जसपा अध्यक्ष मण्डलका ६ सदस्यमध्ये ५ जना उपस्थित रहेका थिए । १ जना सदस्य महेन्द्र यादव बैठकमा उपस्थित भएनन् । पछिल्लो समयमा उनले उपेन्द्र यादवलाई साथ दिँदै आएका छन् ।

    इन्द्रेणी फूडल्यान्डमा पूर्व राजपा नेताहरुको भेला बोलाइएको पूर्व राजपाका महासचिव राजीव झाले स्वीकार गरेका छन् । जसपाका अधिकांश कार्यकर्ताले यसपटक पार्टीले नगदमा सहमति गरोस् भन्ने चाहेको उनले बताए ।

    ‘हामीले वर्तमान प्रधानमन्त्रीसँग सहमति गर्‍यौं भने हाम्रो माग तत्काल पूरा हुन्छ तर माओवादी केन्द्रसँग सहमति गर्‍यौं भने उधारोमा सहमति हुन्छ,’ झाले भने, ‘त्यसैले यसपटक उधारोमा होइन, नगदमा सहमति होस् भन्ने अधिकांश साथीहरुको भावना छ ।’

    पूर्व राजपाको भेलामा समायोजनको विषयमा पनि छलफल भएको नेताहरुले जनाएका छन् ।

    भेलाले तत्कालीन समाजवादीसँग राजपाको समायोजन गर्न मनिष सुमनको संयोजकत्वमा कार्यदल गठन गरेको छ । नयाँ समीकरण निर्माणको विषयमा निर्णायक छलफल गर्न बिहीवार दिउँसो जसपाको कार्यकारिणी समिति बैठक बोलाइएको थियो । तर तयारी नपुगेको भन्दै बैठक स्थगित भयो । स्थगित बैठक होलीपछि मात्र बस्ने सम्भावना रहेको नेताहरुले जनाएका छन् ।

    कार्यकारिणी समितिको बैठक स्थगित भएपछि पूर्व राजपा नेताहरुले भेला बोलाएका थिए । स्रोतका अनुसार कार्यकारिणी समितिको बैठकमा पार्टी अध्यक्ष यादवले माओवादी केन्द्रसँग मिलेर जाने प्रस्ताव पेश गर्ने तयारी गरेका थिए । तर पार्टी अध्यक्ष महन्थ ठाकुर र राजेन्द्र महतो भने केपी ओलीसँग सहकार्य गर्नुपर्ने पक्षमा रहेका छन् ।  

    यसैबीच, नयाँ समीकरण निर्माणको विषयमा विवाद भइरहको बेला माओवादी केन्द्रका नेता वर्षमान पुन जसपा अध्यक्ष महन्थ ठाकुरलाई भेट्न शुक्रवार दिउँसो पूर्व राजपाको पार्टी कार्यालय बबरमहल पुगेका छन् । 

    ठाकुर र पुनबीच भएको कुराकानीमा अरु कसैलाई पनि सहभागी नबनाइएको स्रोतको भनाइ रहेको छ । नयाँ समीकरण निर्माणको विषयमा कुराकानी भएको पूर्व राजपाका एक नेताले बताए । पछिल्लो समय महन्थ प्रधानमन्त्री ओलीसँग निकट मानिएका छन् । आजको नागरिक दैनिकमा समाचार प्रकाशित छ । 

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, मंसिर १२ २०७७०६:५०:१३
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend