काठमाडौं – नयाँ सरकार बनाउन विभिन्न अभ्यास भइरहेका बेला, सरकार र जनता समाजवादी पार्टी (जसपा) सहमति नजिक पुगेका छन् ।
आफ्नो पार्टीले राख्दै आएको माग पूरा गर्ने प्रतिबद्धता प्रधानमन्त्री केपी शर्मा ओलीले जनाएपछि सरकारमा सहकार्य गर्ने स्थिति बन्न लागेको जसपा निकट स्रोतले जनाएको छ ।
जसपा स्रोतका अनुसार पछिल्लो समय प्रधानमन्त्री ओलीसँग जसपा अध्यक्ष महन्थ ठाकुर निकै नजिकिएका छन् । एक–डेढ महिनायता उनीहरूबीच पटक–पटक भेटघाट र कुराकानी भएको स्रोतले जानकारी दिएको छ ।
जसपाले राखेका माग पूरा गर्न सरकारले कार्यदल समेत गठन गरेको छ । कार्यदलमा सरकारका तर्फबाट अर्थमन्त्री विष्णु पौडेल तथा नेताहरू सुवास नेम्वाङ र राजन भट्टराई छन् ।
जसपाबाट सर्वेन्द्रनाथ शुक्ल र लक्ष्मणलाल कर्ण रहेको कार्यदल बनाइएको छ । शुक्ल र कर्ण दुबै अध्यक्ष ठाकुरनिकट हुन् । ठाकुरले पार्टीका अर्का अध्यक्ष उपेन्द्र यादवसँग समेत छलफल नगरी आफ्नो एकल निर्णयमा कार्यदल गठन गरेका थिए । कार्यदल सहमति नजिक पुगेको स्रोतले जनाएको छ । आजको नागरिक दैनिकमा समाचार प्रकाशित छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।