काठमाडौं - चैत २५ गते हुने पत्रकार महासंघको २६औं नयाँ नेतृत्वका लागि प्रचार प्रसार तीव्र बनेको छ । पत्रकारहरुसँग उम्मेदवारहरू भोट माग्न व्यस्त देखिएका छन् ।
महासंघको चुनावमा यसपटक विपुल पोखरेलको नेतृत्वमा लोकतान्त्रिक, व्यवसायिक र समावेशी प्यानल र निर्मला शर्माकोमा देशभक्त प्रगतिशील प्यानल बनेको छ ।
स्पष्ट रूपमा सरकार र सरकारइतर प्यानल खडा भएर चुनावी मैदानमा होमिएका छन् । पोखरेलको समूहमा ११ संगठनको समर्थन छ । शर्माको प्यानलमा नौ संगठन छन् ।
पत्रकार महासंघको वर्तमान उपाध्यक्षसमेत रहेका पोखरेलको प्यानलमा रहेका उम्मेदवारहरू प्यानल नै बनाएर सञ्चार प्रतिष्ठानमा गएर भोट मागिरहेका छन् ।
चैत २५ गते निर्वाचनको मिति तोकिएकाले उनीहरू काठमाडौंमै बसेर देशभरका पत्रकारसँग भोट मागिरहेका छन् । तर, सरकारी प्यानलको अध्यक्ष निर्मला शर्माको समूह भने प्लेन चार्टर गरेर जिल्ला बाहिर भोट माग्न हिँडेको छ ।
बिहीबार अध्यक्षकी उम्मेदवार शर्मा, प्रेस चौतारीका अध्यक्ष गणेश बस्नेत, निमा काफ्ले, श्वेता सिन्हा, बालकृष्ण बस्नेतलगायत काठमाडौंबाट प्लेनमा पोखरा गएका थिए ।
तर, शर्मा प्यानलकै सचिव, केन्द्रीय सदस्यका केही उम्मेदवारलाई भने खबरसमेत गरिएन । उनीहरू काठमाडौंमै व्यक्तिगत रूपमा भोट मागिरहेको देखियो ।
शर्मा समूह आज चितवन आइपुगेको छ । काठमाडौंका अधिकांश मिडिया हाउसमा सरकारी प्यानलले सामूहिक रूपमा भोट माग्न सक्ने अवस्था छैन ।
सोही कारण सरकारकै खर्चमा उनीहरू जिल्ला जिल्ला प्लेनमा गएर भोट मागिरहेको प्रेस चौतारीका एक नेताले बताएका छन् । ‘यसपटक नेपाल पत्रकार महासंघमा उम्मेदवार बन्न नपाएकोमा कुनै गुनासो छैन। गुनासो यसमा छ कि प्लेन चार्टर गरेर प्रचारमा हिड्न पाईएन,’ चौतारीका सदस्य बालकुमार नेपालले सामाजिक सञ्जालमा लेखेका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।