काठमाडौं - जेलमा कैद भुक्तान गरिरहेका अपराधीले मिडियामा अन्तर्वार्ता दिन पाउँदैन । अझ विदेशमा कुराकानी गर्न गृह मन्त्रालयको अनुमति लिनुपर्ने हुन्छ ।
तर, केन्द्रीय कारागार सुन्धारामा कैद सजाय भुक्तान गरिरहेका चर्चित अपराधी चार्ल्स शोभराजको अन्तर्वार्ता विदेशी मिडियामा प्रकाशित भएपछि सनसनी मच्चिएको छ ।
शोभराजको जेलजीवन र उनका भावी योजनाबारे अन्तर्वार्तामा आधारित सामग्री आइतबार दुई बेलायती पत्रिकामा छापिएको थियो। गृह मन्त्रालयले कुनै पनि कैदीले सञ्चारमाध्यमलाई अन्तर्वार्ता दिन मिल्ने कानुनी व्यवस्था नभएको भन्दै त्यसबारे अनुसन्धान जारी रहेको बताएको छ।
गृह प्रवक्ता चक्रबहादुर बुढाले भने, ‘गृह मातहतका कुनै पनि निकायले चार्ल्स शोभराजको अन्तर्वार्ता लिन कुनै पनि मिडियालाई अनुमति दिएको छैन।’ जेल जस्तो संवेदनशील ठाउँबाट विदेशी मिडियालाई अन्तर्वार्ता दिँदा पनि गृहमन्त्री रामबहादुर थापा बादलले सुइँको पाएनन् ।
जब बेलायती पत्रिकामा शोभराजको समाचार आयो, तब मात्र गृह मन्त्रालय ब्युँझियो । कारागार व्यवस्थापन विभागले शोभराजको अन्तर्वार्ताका लागि केही विदेशी मिडियाले अनुमति मागेको भए पनि नदिइएको दाबी गरेको छ। तर अन्तर्वार्ता छापिएपछि विभागले केन्द्रीय कारागारलाई तीव्र छानबिनका लागि निर्देशन दिएको जनाएको छ।
केन्द्रीय कारागारका जेलर लक्ष्मी बाँस्कोटाले भने, ‘जेलभित्रबाट शोभराजको अन्तर्वार्ता कसरी सम्भव भयो भन्नेबारे छानबिन गर्न आइतवार नै सुरु हुने गरी १० दिनको समय पाएका छौँ र यस अवधिमा सत्यतथ्य पत्ता लाग्नेमा हामी विश्वस्त छौँ।’
प्रारम्भिक अनुसन्धानले शोभराजले आफन्त तथा परिवारका सदस्यलाई एक हप्तामा बढीमा दुईपटक टेलिफोन सम्पर्क गर्न पाउने आधारभूत अधिकारको दुरुपयोग गरेको हुनसक्ने बताइएको छ।
शोभराजले फ्रान्सेली भाषा र केही अंग्रेजी मिसाएर कुरा गर्ने गरेको तथा भाषा अनुवादक नभएकोले यस्तो कमजोरीको फाइदा उठाएको हुनसक्ने जेल प्रशासनको दाबी छ।
चार दशकअघि नेपालमा अमेरिकी र क्यानडाली महिलाको हत्या गरेको अभियोगमा झन्डै १७ वर्षदेखि शोभराज केन्द्रीय कारागारको गोलघरमा छन्।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।