काठमाडौं – नेपाली रेडियो नेटवर्कका समाचार निर्देशक तथा राष्ट्रिय समाचार समिति (रासस) का उपसम्पादक जीवन भण्डारीलाई यस वर्षको सर्वोत्कृष्ट युवा पत्रकारिता पुरस्कार प्रदान गरिएको छ ।
रिपोर्टर्स क्लब नेपालको २३ औं वार्षिकोत्सवका अवसरमा प्रधानमन्त्री केपी शर्मा ओली र क्लबका अध्यक्ष ऋषि धमलाले उनलाई संयुक्त रूपमा पुरस्कृत गरेका हुन् ।
झण्डै २ दशकदेखि पत्रकारितामा क्रियाशील भण्डारी अहिले अनलाइन टीभी पत्रकार संघको संस्थापक अध्यक्ष समेत छन् । पत्रकारिता तथा आमसञ्चार र समाजशास्त्रमा स्नातकोत्तर गरेका भण्डारीले कानून संकायमा स्नातक गरेका छन् ।
उनी पत्रकारिता अध्यापन कार्यमा समेत संलग्न छन् भने सञ्चारकर्मीहरूको अन्तर्राट्रिय संस्था युनिमीको नेपाल च्याप्टरको महासचिव, पाल्पाली संगमको सचिव, विनय कसजु स्मृति प्रतिष्ठानको संस्थापक सचिव र विभिन्न संघसंस्थाको प्रेस सल्लाहकारको रूपमा सामाजिक सेवामा पनि सक्रिय छन् ।
पाल्पाको रामपुर नगरपालिका–१० मा पिता तुल्सीप्रसाद भण्डारी र माता दूर्गा भण्डारीको ज्येष्ठ सुपुत्रका रूपमा जन्मिएका भण्डारीको पत्रकारिता पाल्पाको गाउँले देउराली साप्ताहिकबाट सुरू भएको थियो ।
पाल्पाकै नवजनचेतना दैनिकका लागि अञ्चल कार्यालय प्रमुखको जिम्मेवारीसहित बुटवललाई कार्यक्षेत्र बनाएपछि उनले बुटवलमा अध्ययनसँगै देउराली दैनिक र बुटवल एफएमका काम गरे ।
स्नातक तहको अध्ययन बुटवलमा सकेपछि थप अध्ययन र पत्रकारितालाई निरन्तरता दिने उद्देश्यले २०६५ सालमा उनी काठमाडौं छिरेका थिए ।
काठमाडौंमा नेपाल एफएम नेटवर्कमा सिफ्ट इन्चार्जको जिम्मेवारीसहित समाचार शाखामा नेतृत्वदायी भूमिका खेलेका भण्डारीले रेडियो आँधिखोलाको स्टेसन म्यानेजर हुँदै नेपालवाणी नेटवर्क र नेपाली रेडियो नेटवर्क स्थापना गरे । उनी नेपालवाणीको संस्थापक समाचार प्रमुख र नेपाली रेडियो नेटवर्कको संस्थापक समाचार निर्देशक हुन् ।
उनले यसअघि पनि दर्जनौं पुरस्कार तथा सम्मानपत्रहरू प्राप्त गरेका छन् । विद्यालय जीवनमै साहित्यबाट पत्रकारितामा प्रवेश गरेका भण्डारीको अजीवि नामक साहित्यिक कृति पनि प्रकाशित छ ।
क्लबले उनीसँगै अन्य ९ पुरस्कार पनि आज मंगलबारै प्रदान गरेको छ । क्लबको यो वर्षको मदन भण्डारी स्मृति पत्रकारिता पुरस्कार वरिष्ठ पत्रकार तथा उज्यालो मल्टिमिडिया प्रालिका कार्यकारी अध्यक्ष गोपाल गुरागाईंलाई प्रदान गरेको छ ।
तारिणीप्रसाद कोइराला स्मृति पत्रकारिता पुरस्कार रेडियो नेपालका समाचार महाशाखा प्रमुख डा. नवराज लम्साल र नेपाल टेलिभिजनका प्रमुख समाचार सम्पादक शालिक सुवेदीलाई, कुलप्रसाद–चेतकुमारी धमला स्मृति पत्रकारिता पुरस्कार राजधानी दैनिकका सम्पादक सागर पण्डितलाई, कृष्णसेन इच्छुक स्मृति पत्रकारिता पुरस्कार ताजा खबर साप्ताहिकका सम्पादक ईश्वरी वाग्लेलाई, शहीद जगदजंगप्रकाश शाह स्मृति पत्रकारिता पुरस्कार नागरिक दैनिकका राजनीतिक ब्यूरो–चिफ बालकृष्ण अधिकारीलाई, उमा सिंह स्मृति पत्रकारिता पुरस्कार कान्तिपुर दैनिककी वरिष्ठ उपसम्पादक विनु सुवेदीलाई, बाबुछिरी फोटो पत्रकारिता पुरस्कार रिपोर्टर्स नेपाल डटकमका फोटो पत्रकार मुकुन्द कालिकोटेलाई प्रदान गरिएको छ ।
वीरेन्द्र शाह स्मृति पत्रकारिता पुरस्कारबाट एबीसी टेलिभिजनका उपसम्पादक अनन्त अनुराग, उत्कृष्ट युवा पत्रकारिता पुरस्कारबाट डिसी नेपाल डटकमका सहसम्पादक मदन कोइराला र प्राइम टाइम्स टेलिभिजनका उपसम्पादक दीपक अर्याललगायत पुरस्कृत भएका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।