काठमाडौं – होली पर्व मनाउन सार्वजनिक कार्यक्रम आयोजना गर्नेलाई स्थानीय प्रशासनले पक्राउ गरेर कारवाही गर्ने भएको छ ।
सार्वजनिक रूपमा होलीको कार्यक्रम वा कन्सर्ट आयोजना गरेमा आयोजकलाई पक्राउ गर्न देशभर प्रमुख जिल्ला अधिकारी (सीडीओ) र प्रहरीलाई निर्देशन दिइएको गृह मन्त्रालयका प्रवक्ता (सहसचिव) चक्रबहादुर बुढाले जानकारी दिए ।
यसअघि नै गृह मन्त्रालयले कोरोना भाइरस (कोभिड–१९) संक्रमणको जोखिमका कारण सरकारले फागु पूर्णिमामा भीडभाड गरेर होली नखेल्न सार्वजनिक आग्रह गरेको छ । ‘भीडभाड गरेमा प्रहरीले कारवाही गर्छ,’ सहसचिव बुढाले भने, ‘सार्वजनिक ठाउँमा कार्यक्रम आयोजना गरेमा आयोजकलाई पक्राउ गरेर कारवाही गर्न सबै सीडीओलाई निर्देशन दिइएको छ ।’
स्वतस्फूर्त मानिस निस्केर भीड भएमा सम्झाइबुझाई गर्न गृह मन्त्रालयको निर्देशन रहेको छ । तर कार्यक्रम आयोजना गर्नेलाई संक्रामक रोग ऐन २०२० अनुसार कारवाही गरिने भएको छ । संक्रामक रोग ऐन २०२० अनुसार आदेश अवहेलना गरेमा १ महिना कैद र १०० रुपैयाँ जरिवाना हुने कानूनी व्यवस्था रहेको छ ।
ऐनले सरकारको काममा बाधा पुर्याउनेलाई ६ महिना कैद वा ७० हजार जरिवाना गर्ने अधिकार प्रमुख जिल्ला अधिकारीलाई दिएको जनाइएको छ ।
राजधानी काठमाडौंमा होलीका बेला भीडभाडमा हुन नदिने मन्त्रालयको निर्णयपछि महानगरीय प्रहरी कार्यालयले उपत्यकामा होली लक्षित ‘सुरक्षा योजना’ लागू गरेको छ । चैत १५ गते पहाडी र १६ गते तराईका जिल्लामा होली मनाइँदैछ ।
होलीमा भीडभाड हुन नदिन र जबरजस्ती लोला हान्ने कामलाई रोक्न जिल्ला प्रशासन कार्यालय र स्थानीय प्रहरीले माइकिङ गर्न थालेको छ ।
राजधानी काठमाडौं उपत्यकामा होलीमा हुनसक्ने उच्छृंखल गतिविधि नियन्त्रण गर्न ५ हजार प्रहरी परिचालन गर्ने गरी सुरक्षा योजना तयार पारिएको छ । ‘कानून विपरीतका गतिविधि नियन्त्रण गर्न सुरक्षा योजनासहित ५ हजार बढी प्रहरी परिचालन गर्छौं,’ महानगरीय प्रहरी कार्यालयका एआईजी हरिबहादुर पालले भनेका छन्, ‘सार्वजनिक ठाउँमा भीड गर्न र कानून विपरीतका क्रियाकलाप हुन दिँदैनौं ।’
जबरजस्ती लोला हान्ने र अन्य व्यक्तिलाई डिस्टर्ब गर्नेहरूलाई समेत नियन्त्रणमा लिएर कानूनी कारवाही गर्ने प्रहरीको योजना रहेको छ । ‘जबरजस्ती गर्ने र अनावश्यक हैरानी दिनेलाई कारवाही गर्छौं,’ एआईजी पालले भने, ‘परिवारमा बसेर होली मनाउन र सुरक्षा सतर्कता अपनाउन माइकिङ गर्न सुरू गरिएको छ ।’
फागु पूर्णिमा होलीको दिन काठमाडौं, भक्तपुर र ललितपुरमा पिकेट ड्युटी, मोबाइल गस्ती र सीआरभी भ्यानमा प्रहरी परिचालन गरिने छ । भीडभाड हुन नदिन रिजर्भ फोर्स तयारी अवस्थामा राखेर उपत्यकाका ३ जिल्लामा सुरक्षा योजना लागू गरिएको प्रहरीले जनाएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।