काठमाडौं – गृह मन्त्रालयको नेतृत्वमा नयाँ गृहमन्त्री खगराज अधिकारी आएपछि देशभरका ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) लाई निषेधाज्ञाबारे निर्देशन दिइएको छ ।
कोभिड संक्रमणका कारण प्रभावित भएको मुलुकको आर्थिक गतिविधि चलायमान हुने गरी कार्ययोजनाका साथ अघि बढ्न गृह मन्त्रालयले ७७ वटै जिल्ला प्रशासन कार्यालयका सीडीओ र सुरक्षा अधिकारीलाई निर्देशन दिइएको हो ।
गृह मन्त्रालय प्रवक्ता जनकराज दाहालले मन्त्री अधिकारीबाट प्राप्त निर्देशन अनुसार परिपत्र जारी गरिएको बताए । मन्त्रालयले सरकारले सञ्चालन गरेका विकास आयोजना तोकिएको समयमा सम्पन्न गर्न प्रभावकारी समन्वय, सहजीकरण एवं अनुगमन गरी विकास कार्यमा तीब्रता दिन समेत निर्देशन दिएको छ । यसरी काम गर्दा स्वास्थ्य सुरक्षा मापदण्डलाई पूर्ण पालना गर्नुपर्ने निर्देशन समेत छ ।
हालसम्मको निषेधाज्ञा कार्यान्वयनको समीक्षा गर्दै जनस्वास्थ्यमा नकारात्मक असर नपारी स्वास्थ्य मापदण्ड पालना गरेर आर्थिक गतिविधि अगाडि बढाउने सम्बन्धमा पूर्व तयारीमा जुट्न परिपत्रमा निर्देशन दिइएको छ ।
नागरिकको जिउधनको सुरक्षा तथा जिल्लामा भयरहित वातावरणको सिर्जना गर्न शान्ति सुरक्षामा खलल पुग्ने गरी कुनै पनि गतिविधि हुन नदिन, जिल्लामा घट्न सक्ने घटनाको सम्बन्धमा पूर्व सूचना लिई सोही अनुसार सुरक्षा योजना बनाई कार्यान्वयन गर्न समेत मन्त्रालयले निर्देशन दिएको छ ।
गृह मन्त्रालय र अन्तर्गतका सम्पूर्ण निजामति तथा प्रहरी कर्मचारीले उच्च मनोबलका साथ जनगुनासो नआउने गरी कानुनको पूर्णपालना गर्न, मानव अधिकारको प्रत्याभूति हुने गरी भ्रष्टाचारमा शून्य सहनशीलताको मर्म अनुरूप पारदर्शी रूपमा कार्य सम्पादन गर्न परिपत्रमा भनिएको छ ।
आगामी कात्तिक २६ र मंसिर ३ गते सम्पन्न हुने प्रतिनिधिसभाको निर्वाचन भयरहित, निष्पक्ष र विश्वासिलो बनाउन सम्वद्ध पक्षबीच आवश्यक समन्वय गरी तत्काल निर्वाचन कार्ययोजना तयार गर्नेबारे समेत निर्देशनमा उल्लेख छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।