काठमाडौं – कोरोना भाइरस संक्रमण नियन्त्रण तथा रोकथामका लागि गृह मन्त्रालयले देशभर ४५ जिल्लामा निषेधाज्ञा जारी भएको जनाएको छ ।
हिजो आइतवार साँझसम्म ४१ जिल्लामा निषेधाज्ञा लागू भएकोमा आज सोमबार थप ४ जिल्लामा निषेधाज्ञा जारी भएको मन्त्रालयले जनाएको छ ।
आज सोमबारबाट महोत्तरी, डोल्पा, डोटी र नवलपरासी पूर्वमा निषेधाज्ञा जारी गर्ने निर्णय जिल्लास्तरीय कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) ले गरेका छन् ।
नयाँ निषेधाज्ञा जारी भएका जिल्लामध्ये महोत्तरीमा २२ गते बुधवार साँझ ६ बजेदेखि ३१ गते राति १२ बजेसम्म, डोल्पा र डोटीमा भोलि मंगलवार राति १२ बजेदेखि ३१ गते राति १२ बजेसम्म र नवलपरासी पूर्वमा पनि भोलि २१ गते मंगलबार राति १२ बजेदेखि जेठ ४ गते राति १२ बजेसम्म लागू गरिएको छ ।
गृह मन्त्रालयका प्रवक्ता जनकराज दाहालले हालसम्म ४५ जिल्लामा निषेधाज्ञा जारी भएकोमध्ये ९ जिल्लामा मात्र आंशिक, बाँकी ३६ जिल्लामा पूर्ण रूपमा निषेधाज्ञा जारी भएको बताए । आवश्यकता अनुसार जिल्लास्तरीय कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) ले निषेधाज्ञा बढाउन सक्ने समेत प्रवक्ता दाहालले बताएका छन् ।
गत वैशाख १३ गतेको मन्त्रिपरिषद् बैठकले काठमाडौं उपत्यका र तराईका जिल्लामा ५०० भन्दा बढी तथा पहाडी र हिमाली जिल्लामा २०० भन्दा बढी सक्रिय संक्रमितको संख्या भएमा प्रमुख जिल्ला अधिकारी (सीडीओ) ले निषेधाज्ञा जारी गर्नसक्ने निर्णय गरेको थियो । मन्त्रिपरिषद् बैठकले १५ दिनसम्म निषेधाज्ञा जारी गर्न सक्ने अधिकार जिल्लास्तरीय कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) लाई दिएको छ ।





मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।