काठमाडौं – आगामी जेठ ३० गते स्वतन्त्र विद्यार्थी युनियन (स्ववियू) चुनाव गर्न त्रिभुवन विश्वविद्यालय र नेपाल विद्यार्थी संघ (नेविसंघ)बीच सहमति जुटेको छ ।
नेपाली कांग्रेसको भातृ संगठन नेविसंघ त्रिभुवन विश्वविद्यालय समितिले स्ववियू चुनावसहित ५ बुँदे माग राखेर ४८ दिनदेखि बसेको रिले अनशन तोड्दै स्ववियु चुनाव गर्ने गरी त्रिवि र विद्यार्थीबीच सहमति भएको छ ।
त्रिविले स्ववियू निर्वाचन गर्नका लागि चैत २५ गते सर्वपक्षीय छलफल गर्ने जनाएको छ । त्रिवि र नेविसंघ विश्वविद्यालयबीच विगतमा भएका २३ बुँदे सम्झौतामध्ये कार्यान्वयन हुन बाँकी बुँदा यथाशीघ्र कार्यान्वयन गर्ने, कोभिड–१९ का कारण ढिलो सञ्चालित परीक्षाको नतिजा यथाशीघ्र प्रकाशन गर्ने, त्रिविको शैक्षिक पात्रोलाई अनुशरण गर्न सम्बन्धित निकायलाई निर्देशन दिने सहमति भएको नेविसंघका पूर्व कोषाध्यक्ष शिव रिमालले बताएका छन् ।
त्रिवि समाजशास्त्र केन्द्रीय विभागको समस्या समाधान गर्ने सन्दर्भमा आवश्यक छलफल एवं परामर्श गरी २ महिनाभित्र राय–सुझाव पेश गर्न ३ सदस्यीय समिति गठन गर्ने सहमति समेत भएको छ ।
सहमति–पत्रमा त्रिविका तर्फबाट शिक्षाध्यक्ष प्रा.डा. शिवलाल भुसाल र नेविसंघ विश्वविद्यालय समितिका तर्फबाट अध्यक्ष डा. श्यामकृष्ण अधिकारीले हस्ताक्षर गरेका जनाइएको छ ।
अनशनरत नेविसंघका विद्यार्थीलाई शिक्षाध्यक्ष प्रा.डा. भुसालले जुस खुवाएर अनसन अन्त्य गराएका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।