काठमाडौं – नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालको स्वास्थ्य अवस्थाबारे अनेक समाचार प्रकाशित भएपछि सचिवालयले प्रेस विज्ञप्ति जारी गरेको छ ।
सचिवालयले खनालको स्वास्थ्य बाहिर सञ्चारमाध्यममा आएजस्तो नभएको जानकारी दिएको छ ।
नेता खनालका स्वकीय सचिव कृष्ण भट्टराईले प्रेस विज्ञप्ति जारी गरेर खनालको स्वास्थ्यलाई लिएर केही सञ्चारमाध्यममले प्रचार गरेको समाचारप्रति ध्यानाकर्षण भएको जनाएका छन् । ‘बाहिर मिडियामा आएको जस्तो जटिल र संवेदनशील अवस्था भने होइन,’ विज्ञप्तिमा उल्लेख छ ।
पूर्व प्रधानमन्त्री खनालको विगत केही समय अगाडिबाट स्वास्थ्यमा सामान्य मात्र समस्या देखा परेको भट्टराईले बताए । खनालको स्वास्थ्यलाई लिएर सञ्चारमाध्यमले भ्रामक अफवाहमा आधारित समाचार सम्प्रेषण गर्ने र प्रचार गर्ने कामप्रति उनले आपत्ति जनाएका छन् ।
‘कुनै पनि व्यक्तिको स्वतन्त्रतासम्बन्धी हकअन्तर्गत स्वास्थ्य जस्तो गम्भीर संवेदनशील कुरामा सूचना सम्प्रेषण गर्नुभन्दा अगाडि परिवारसँग जानकारी लिने वा सम्बन्धित पक्षसँग सत्यतथ्य बुझ्न सबैमा सचेत गराइन्छ,’ विज्ञप्तिमा उल्लेख छ, ‘उहाँको स्वास्थ्य अवस्था सामान्य रहेको, पार्टी कमिटीका सम्पूर्ण कार्यक्रममा सक्रियताका साथ लागिरहनुभएको हुँदा बाहिर आएको गलत सूचनाको भ्रममा नपर्न आमनागरिक, सञ्चार जगत, प्रवुद्ध समुदाय र शुभेच्छुक र शुभचिन्तक सबैमा हार्दिक आग्रह गर्दछु ।’
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।