काठमाडौं – भारत सरकारको ३.५ करोड नेपाली रुपैयाँ आर्थिक सहयोगमा ललितपुरस्थित जिल्ला सहकारी संघ लिमिटेडको लागि निर्माण गरिएको नयाँ सहकारी प्रबद्र्घन केन्द्र भवनको बुधबार काठमाडौंस्थित भारतीय राजदूतावासका नियोग उपप्रमुख नामग्य सी खम्पाले उद्घाटन गरेकी छन् ।
समारोहमा नेपाल सरकारका पूर्व अर्थमन्त्री उदय राणा, सहकारी संघ लिमिटेड, ललितपुरका अध्यक्ष माधव दुलाल तथा संघका पदाधिकारी र जिल्ला समन्वय समितिका प्रतिनिधिको उपस्थिति थियो ।
‘नेपाल–भारत विकास सहकार्य’ कार्यक्रम अन्तर्गत निर्मित यस तीनतल्ले नयाँ भवनमा बहुउद्देश्यीय बेसमेन्ट, ग्राउण्ड र दोस्रो तल्ला छन् । पहिलो तल्ला खल्ला बजारका लागि प्रयोग गरिने छ । दोस्रो तल्लामा कार्यालय एवं प्रशिक्षण कक्ष, बहुउद्देश्यीय हल, एउटा स्रोत केन्द्र तथा चमेनागृह रहनेछ भने बहुउद्देश्यीय बेसमेन्टको एउटा खण्डमा पार्किङको सुविधा हुनेछ । यो परियोजना उच्च प्रभाव सामुदायिक विकास परियोजना अन्तर्गत रहेको छ र यसको कार्यान्वयन जिल्ला समन्वय समिति ललितपुरले गरेको भारतीय दूतावासले जनाएको छ ।
सन् २००३ यता भारतले नेपालमा ४४६ वटा उच्च प्रभाव सामुदायिक विकास परियोजना सम्पन्न गरिसकेको छ । जसमध्ये ललितपर जिल्लाका ९ वटा परियोजनासहित ८४ वटा परियोजना बागमती प्रदेशमा रहेका छन् ।
यीबाहेक भारतीय राजदूतावासले ललितपुर जिल्लाका विभिन्न स्वास्थ्य चौकी, गैरसरकारी संस्था तथा शैक्षिक संस्थालाई १८ वटा एम्बुलेन्स र ९ वटा स्कूल बस उपहार स्वरूप प्रदान गरिसकेको छ ।
सन् १९७२ मा स्थापित सहकारी संघ लिमिटेडको सदस्य समाजको रूपमा ७६५ वटा सहकारी रहेका छन् भने ३ लाख ५० हजारभन्दा बढी सदस्यता रहेका छन् । सहकारी संघको मुख्य उद्देश्य नै सदस्य सहकारीको गतिविधिको नेतृत्व, समर्थन, समन्वय र प्रबद्र्घन गर्नुका साथै खेती किसानी गर्ने समुदायको विकास एवं सुदृढीकरण गर्नु हो । ‘नवनिर्मित सहकारी प्रबद्र्घन केन्द्रले सहकारी तथा यसका किसान सदस्यहरूको बजारीकरण क्षमता बढाउने अपेक्षा गरिएको छ । यसका साथै यसले किसान र उपभोक्ताबीच प्रत्यक्ष सम्बन्ध स्थापित गर्न मद्दत गर्ने अपेक्षा गरिएको छ । कृषिजन्य उत्पादनको बजारीकरणमा विशेष रुचि राख्ने व्यक्तिहरुका लागि सो भवनले सूचना केन्द्रको रूपमा पनि काम गर्ने विश्वास लिइएको छ,’ भारतीय दूतावासद्वारा प्रेषित प्रेस विज्ञप्तिमा उल्लेख छ, ‘भारत नेपालको भरपर्दो विकास साझेदारको रूपमा रहेको छ । यस परियोजना मार्फत कृषि बजारीकरण क्षेत्रमा पूर्वाधार सुदृढ गर्ने नेपाल सरकारको प्रयासमा भारतीय राजदूतावासले थप बल प्रदान गरेको छ ।’
गत २ वर्षमा भारतले ५९ जना कृषि वैज्ञानिक, किसान, जैविक खेती, माटो परीक्षण र मलखाद विज्ञान जस्ता क्षेत्रमा आबद्घ कृषि क्षेत्रका नीति निर्माणकर्तालाई दिल्लीको ‘नेसनल क्यापिटल रिजन’को शीर्षस्थ भारतीय कृषि केन्द्रहरूमा प्रशिक्षण दिइसकेको छ । दुबै देशका सरकारले नेपालमा नमुना पशु अस्पताल र पशु प्रयोगशाला स्थापना गर्नेबारे काम पनि गरिरहेका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।