काठमाडौं – हालै प्रतिबन्ध फुकुवा भएको नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले तत्कालीन माओवादी नेतृत्वले लडाकू शिविर व्यवस्थापनका नाममा अर्बांै रुपैयाँ अनियमितता गरेको भन्दै त्यसको हिसाबकिताब हुनुपर्ने बताएका छन् ।
विप्लवले तत्कालीन नेकपा माओवादी अध्यक्ष प्रचण्ड नेतृत्वलाई लक्षित गर्दै शिविरमा भएको आर्थिक अनियमितताबारे गम्भीर प्रश्न उठाएका छन् ।
प्रतिबन्ध फुकुवापछि गृहजिल्ला कपिलवस्तुमा सोमवार आयोजित कार्यक्रममा बोल्दै विप्लवले जनमुक्ति सेनाको पैसामाथि भ्रष्टाचार भएको विषय सार्वजनिक भएको र आफूले त्यतिखेरै पार्टीमा गम्भीर रुपमा उठाएको भए पनि बेवास्ता गरिएको बताएका छन् ।
विप्लवले आपूmहरुले पार्टीभित्र त्यस्तो बदमासी नगर्नुस् है भनेर नेतृत्वलाई सचेत गराएको स्मरण समेत गरे । ‘२० हजार जनमुक्ति सेना ब्यारेकमा बस्दा प्रतिसेना ५ हजार रुपैयाँका दरले काटियो, क्रान्तिका निम्ति भन्दै काटिएको त्यो पैसा कहाँ गयो ?’ पूर्व माओवादी कमान्डर मध्येका एक विप्लवले प्रचण्डलाई सोधे, ‘थोरैको कुरा हो र ? १९ अर्ब रुपैयाँको कुरा छ, त्यसको खोजीनीति हुनुपर्छ ।’
भ्रष्टाचारको विषय सार्वजनिक भए पनि ठोस परिणाम नआएको भन्दै विप्लवले असन्तुष्टि व्यक्त गरेका छन् । ‘भ्रष्टाचार कसले गरेको हो ठोस हुनुपर्दैन ? एउटाले अर्कोलाई दोष दिएको छ,’ विप्लवले भने ।
विप्लवले शीर्ष दलले जनताको मत पाएर जनताकै अपमान गरेको बताएका छन् । उनले भने, ‘दलहरु गुटगत लडाइँमा छन् । आफ्नो गुटका लागि लडेर जनतालाई सुख हुँदैन, प्रगति हुँदैन ।’ आफूहरु शान्ति विरोधी नभएको भन्दै विप्लवले भ्रष्टाचारीको विरोधमा आवाज उठाएको बताएका छन् ।
‘भ्रष्टाचार गर्नेलाई कारबाही गर्नु गल्ती हो त ? किसानलाई सस्तोमा ऋण दिनुपर्छ भन्नु गल्ती हो त ?’ विप्लवले प्रश्न गरेका छन् ।
विप्लवले सरकार गठन भएको १ वर्षपछि प्रचण्डले आफ्नै पार्टीभित्र सत्तालोलुपताका लागि प्रधानमन्त्री केपी शर्मा ओलीसँग संघर्ष गरेको बताएका छन् । ‘के त्यो संघर्ष किसान, मजदुर र श्रमिक वर्गको हकहितका लागि थियो र ?’ उनले सोधे ।
विप्लवले प्रचण्डले क्रान्तिलाई धोका दिएको बताएका छन् । विप्लवले भने, ‘कुनै बेला प्रचण्ड उभिएपछि देश हल्लिन्थ्यो । प्रचण्डले अपिल गर्दा हजारौं दिदीबहिनी आन्दोलनमा होमिन तयार थिए । हामी पनि तयार थियौं तर हामीले छोडेको २० महिनामा नै प्रचण्ड धुलोपिठो बन्न पुगे ।’
विप्लवले प्रचण्ड र बाबुराम भट्टराई हिँडेको बाटो गलत भएको बताएका छन् । ‘जुन उद्देश्यले जनयुद्ध थालियो तर प्रचण्ड र बाबुरामले जनताको सपनालाई लत्याए,’ विप्लवले भने ।
विप्लवले सरकारसँग जनमत संग्रहको माग समेत गरेका छन् । ‘संसदीय व्यवस्था फेल साबित भयो । अब पुँजीवादी व्यवस्था ठीक कि वैज्ञानिक समाजवादी ठीक भनेर व्यवस्थाका लागि जनमत संग्रह गरौं,’ उनले भने ।
सरकार र आफ्नो पार्टीबीच भएको सहमति अग्रगामी र आमजनताको पक्षमै भएको उनले स्पष्ट पारेका छन् । कतिपयले गलत ढंगले व्याख्या गरे पनि यो सहमति जनताको पक्षमा गरिएको विप्लवले दाबी गरेका छन् ।
विप्लवले आफूहरुसँग हतियार नभएको स्पष्ट पारेका छन् । ‘हाम्रो पार्टीसँग हतियार छैन । दिमाग हाम्रो वैज्ञानिक हतियार हो । कसैले हाम्रो स्वाधीनतामाथि हस्तक्षेप गर्छ भने चुप लागेर बस्दैनौं,’ उनले भने । आजको राजधानी दैनिकमा समाचार प्रकाशित छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।