काठमाडौं – नेपाली कांग्रेसका प्रभावशाली युवा नेता तथा पूर्व सांसद रामहरि खतिवडाले नेपाली कांग्रेसले कम्युनिस्टलाई काँधमा बोकेर मुलुक सही बाटोमा नजाने टिप्पणी गरेका छन् ।
शुक्रबार नुवाकोटमा आयोजित प्रथम छहरे ऐतिहासिक महोत्सव तथा व्यापार मेलालाई सम्बोधन गर्दै नेता खतिवडाले कांग्रेसले कम्युनिस्टसँग मिल्न नहुने बताए ।
सर्वाेच्च अदालतले संसद पुनर्स्थापना गरेपछि कम्युनिस्ट नेताले कांग्रेस नेताहरूको दैलो चहारेको प्रसङ्ग कोट्याउँदै नेता खतिवडाले कम्युनिस्ट एकै हुँदा देशका लागि केही गर्न नसकेकाले कांग्रेससँग मिलेर पनि केही नहुने बताए ।
‘आजसम्म नेकपा एकै छ, त्यसभित्र विभाजित भएका कुन कम्युनिस्टलाई सहयोग गर्ने भन्ने कुरै हुँदैन । त्रिशंकु संसदबाट बनाउने सरकारले केही गर्न सक्दैन,’ उनले भने, ‘अब यही संसदबाट निर्वाचनमा जानुपर्छ ।’
कांग्रेसले कम्युनिस्टको जस्तो झगडा मात्रै नगर्ने नेता खतिवडाले बताए । ‘७० वर्षसम्म कसैले गर्न नसकेको संविधान सभाबाट संविधान बनाउने काम नेपाली कांग्रेसको नेतृत्वमा सम्पन्न भएको हो,’ उनले भने, ‘कम्युनिस्टहरू कुरा गर्दा समृद्धिका कुरा गर्ने, रेलका कुरा गर्ने, पानीजहाजका कुरा गर्ने । तर स्थानीय स्तरका सडक बनाउन समेत बजेट दिन नसक्ने ।’
जनताले कम्युनिस्टलाई बहुमत दिँदा समेत कांग्रेसले संसदमा कुनै अवरोध नगरेको नेता खतिवडाले सम्झिए । ‘हामीले १ दिन पनि संसद बन्द गरेनौं, नेपाल बन्द गरेनौं, संसदभित्र कुर्सी तोडेनौं ।
तर पार्टीभित्र कुरा मिलाउन नसक्दा ५ वर्षको संसद ३ वर्षमा हत्या गर्न खोजियो तर सर्वाेच्चले बचाइदियो, संविधान बच्यो,’ उनले भने, ‘कम्युनिस्ट पार्टीका नेताहरू बहुमत हुँदा पनि केही गर्न नसकेर अहिले कांग्रेसका नेताका घरघरमा पुगेका छन् । तर हामीले विश्वास गर्दैनौं ।’
कम्युनिस्ट पार्टीले बहुमत पाएपनि एकअर्कालाई गाली गर्नेबाहेक केही काम गर्न नसकेको नेता खतिवडाले बताए । ‘एक समूहले अर्काेलाई गाली गर्नेबाहेक केही छैन । देशलाई समृद्ध बनाउने विषयमा केही छैन ।
कम्युनिस्टहरूले जनतामा वितृष्णा फैलाउने, देशको ढुकुटी लुट्ने, भ्रष्टाचार गर्नेबाहेक केही गर्न सकेनन्,’ उनले भने । महोत्सवको कार्यक्रममा प्रमुख अतिथि नेपाली कांग्रेसका सहमहामन्त्री डा. प्रकाशशरण महत, नेपाली कांग्रेसका युवा नेता बहादुरसिंह लामा, नेपाली कांग्रेसका नेता राजीवविक्रम शाह लगायतले सम्बोधन गरेका थिए ।








मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।