काठमाडौं - ‘रसुवागढी नाका लामो समयदेखि पूर्ण संञ्चालनमा नआउँदा ऋण गरेर ४०० भन्दा बढी कन्टेनर खरिद गरेका रसुवालीहरु आज किस्ता तिर्न नसकेर गाडीनै बुझाउने अवस्थामा पुगेका छन्,’ नेपाली कांग्रेसका नेता एंव रसुवा जिल्लाबाट तत्कालीन प्रतिनिधिसभा सदस्य मोहन आचार्यले केही दिनअघि गरेको गुनासो हो यो ।
लामो समयदेखि चीनले रसुवागढी नाकामा अवरोध गरेपछि आचार्यजस्तै गुनासो गर्ने व्यापारीको संख्या ठूलो छ । व्यापारीहरू चीनले अघोषित नाकाबन्दी नै लगाएको गुनासो गर्छन् ।
व्यापारीहरूका अनुसार १ वर्षदेखि नाका पूर्ण सञ्चालनमा नआउँदा चीनतर्फका १००० भन्दा बढी कन्टेनरका सामग्री बिग्रने अवस्थामा पुगेका छन् ।
यसबारे पटक पटक चिनियाँ पक्षलाई अवगत गराए पनि अघोषित नाकाबन्दी यथावत् राखिएको व्यापारीको भनाइ छ । व्यापारीको सामान चीनले लामो समयदेखि रोकेर राखे पनि चिनियाँ राजदूत होउ यान्छीले भने त्यसो नगरिएको जिकिर गरेकी छन् । उनले नाकाबन्दी शब्दप्रति नै गम्भीर असहमति व्यक्त गरेकी छन् । यस्तो प्रचारबाजीमा केही शक्ति लागेको उनको आरोप छ ।
‘केही शक्तिले समय समयमा तथाकथित चिनियाँ नाकाबन्दीको कुरालाई चर्चामा ल्याउने गरेका छन्,’ एक दैनिक पत्रिकासँगको अन्तरवार्ताका क्रममा उनले भनेकी छन्, ‘मैले यहाँ जोड दिएर भन्न चाहेको कुरा के हो भने चीनले नेपाललाई नाकाबन्दी गर्ने कुरा इतिहासमा कहिल्यै भएको थिएन, अहिले पनि छैन र भविष्यमा पनि हुनेछैन ।’
नाकाबन्दी गरेको तथ्य गलत सावित गर्न उनले केही तथ्यांक समेत प्रस्तुत गरेकी छन् । यान्छीका अनुसार, सन् २०२० मा मात्र केरुङ र खासा नाकाबाट चीनले ३६ अर्ब नेपाली रुपैयाँ बराबर निर्यात गरेको छ । चिनियाँ रवैयाका कारण तड्पिएरहेका व्यापारी राजदूतको यस्तो दाबी बाहिरिएपछि अचम्मित भएका छन् । साँघुबाट साभार
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।