काठमाडौँ- बैतडीको दोगडा केदार गाउँपालिका–७ की १७ वर्षीय किशोरी भागीरथी भट्टको हत्यारालाई यथाशीघ्र कारबाहीको दायरामा ल्याउन माग गर्दै आन्दोलनका कार्यक्रम चर्किँदै गएका छन् ।
बलात्कार पछि हत्या गरेर जङ्गलमा फालेको अवस्थामा शव फेला परेपछि घटनामा संलग्नलाई कारबाहीको माग गर्दै आइतबार नेपाल विद्यार्थी सङ्घले काठमाडौको पुतिसडकमा दबाबमूलक विरोध प्रदर्शन गरेको हो।
फेरियो व्यवस्था, फेरिएन छोरीहरूको अवस्थालगायतको नारासहित बलात्कारीलाई चाँडो समातेर कारबाही गर्न नेविसंघले आग्रह गरेको छ ।
प्रदर्शनी मार्गबाट सुरु भएको सभा पुतलीसडकमा पुगेर कोणसभामा परिणत भएको थियो । तुलसा पन्तले संयोजन गरेको कार्यक्रममा राजीव ढुङ्गाना, प्रमीला गौतम, धना खतिवडा, दीपक भट्टराईलगायतले आफ्नो धारणा राखेका थिए ।
समाजमा घट्ने यस्ता घटनाहरूलाई जरै देखि उखेलेर फाल्न हरदम तयार रहेको र यथाशीघ्र बलात्कारी पक्राउ गरेर कारबाहीको दाउरामा ल्याउनुपर्ने उनीहरूको भनाई छ ।
देशमा बलात्कार,कोरोना महामारीलगायतका जोखिम भइरहँदा पनि प्रधानमन्त्रीले यी सबै कुराको बेवास्ता गरेको उनीहरुको भनाई छ । सरकार सभा, सम्मेलन तथा कुर्सी जोगाउन नै व्यस्त रहेर अन्य कुरालाई बेवास्ता गरेको नेविसंघको धारणा छ ।
मुलुक भित्र होस् या बाहिर नेपाली चेली कहीँ पनि सुरक्षित नरहेकोले सबै चेलीको सुरक्षाको माग गर्दै दबाबमूलक कार्यक्रम गरेको नेविसंघका महामन्त्री दीपक भट्टराईले जानकारी दिएका छन् ।
कार्यक्रममा बोल्दै उनले भने, ‘घटना जहाँ सुकै घटोस् अपराधी जुन सुकै देशका किन नहुन् अपराधीलाई कारबाही हुनुपर्छ।’ केही दिन अघि भारतको विहारमा १२ वर्षीय नेपाली चेलीको सामूहिक बलात्कार, हत्या र प्रहरीकै सहयोगमा प्रमाण नष्ट गर्न जबरजस्ती शव जलाउन बाध्य बनाइएको भन्दै उनको न्यायको लागि पनि आफूहरू लड्ने भट्टराईले बताए ।
कञ्चनपुरकी निर्मला पन्तका हत्यारा लामो समय देखि पत्ता नलागेको अवस्थामा पुनः सोही प्रकृतिको घटना घटेकाले अपराधी उम्किन नपाओस् भन्नका लागि आन्दोलन चर्किँदै गएको हो ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।