काठमाडौं – सिन्धुलीमा पुरानो रेडियो लगायतका सुनका गरगहना लुटेर लुटेरा भाग्दाभाग्दै नेपाल प्रहरीको ग्वाल्टार प्रहरी चौकीका हवल्दार गम्भीर लामा तामाङले बहादुरी देखाएका छन् ।
जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रवक्ता तथा डीएसपी श्याबहादुर खत्रीका अनुसार सिन्धुलीको फिक्कल गाउँपालिका–४ खाङसाङका रत्नबहादुर लुम्रेमगर, गोलञ्जोर गाउँपालिका–४ का रामबहादुर आलेमगर र हिमगंगा गाउँपालिका–४ रामेछापका श्याम तामाङलाई लुटपाट अपराधमा पक्राउ गरिएको छ ।
गोलञ्जोर गाउँपालिका–४ टाँडी बिमिरेकी यमकुमारी ठकुरीलाई घरमा एक्लै भएको अवस्थामा आईतवार दिउँसो आँखामा पट्टि बाँधेर पुरानो रेडियो सेट, सुनका गरगहना लगायतका सामान लुटपाट गरेको आरोपमा प्रहरीले तीनै जनालाई पक्राउ गरेको छ ।
ग्वाल्टार प्रहरी चौकीका हवल्दार गम्भीर लामा तामाङको नेतृत्वमा खटिएको प्रहरी टोलीले अभियुक्त लुम्रेमगरलाई प्रदेश २–०२–००३ प ४४६४ नम्बरको मोटरसाइलमा भाग्दै गर्दा ग्वालटार–बितिजोर–तिनकन्या सडकबाट पक्राउ गरेको छ भने आलेमगर र तामाङलाई गोलन्जोर गाउँपालिकाको तीनकन्याबाट स्थानीयले नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका छन् ।
पक्राउ परेका तीनै जनालाई ईलाका प्रहरी कार्यालय खुर्कोटमा राखिएको खत्रीले बताएका छन् ।
ईलाका प्रहरी कार्यालय खुर्कोटले पक्राउ परेकाहरूमाथि अनुसन्धान गरेर जिल्ला प्रहरी कार्यालय सिन्धुलीको जिम्मा बुझाउन अभियुक्तलाई सोमवार सदरमुकाम पठाइएको प्रहरी निरीक्षक शान्ता वाइबाको जानकारी दिइन् । ३ जनाको समूहमा रहेका अभियुक्तसँग ठूलै समूह जोडिएको अनुमान गरिएको गोलञ्जोर गाउँपालिकाका प्रवक्ता दौलत कार्कीले बताएका छन् ।
लुटेरा समूहले सुनका गहना, पुरानो रेडियो लगायत सामग्री चोरी गरेर भागेका जनाइएको छ ।
ठकुरीको घरमा पुरानो रेडियो र राति बल्ने स्टोन रहेको आंशकामा लुटपाट भएको स्रोतले जनाएको छ । लुटेरा समूहबाट ४ लाख रुपैयाँ लिएर अभियुक्तहरू ठकुरीको घरबाट रेडियो र स्टोन लुटेर लैजान आएका देखिएको स्थानीय तथा नेकपाका नेता पुकार न्यौपानेले बताएका छन् ।
पुरानो रेडियोका सामानहरू करोडौं मूल्यमा बिक्री हुने हल्ला चलेपछि रेडियो लुटेको हुनसक्ने अनुमान गरिएको छ । केही दिनयता सिन्धुलीमा करोडौं पैसामा किन्ने भन्दै पुरानो रेडियो खोज्दै थुप्रै टोली गाउँ पसेका जनाइएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।