बिहिवार, आश्विन २९ २०८३Oct 15 2026

Logo
images images

प्रधानमन्त्री केपी ओलीका वकिल सर्वाेच्च अदालतको प्रतिप्रश्नमा नाजवाफ !

प्रधानमन्त्री केपी ओलीका वकिल सर्वाेच्च अदालतको प्रतिप्रश्नमा नाजवाफ !

  • मिडिया डबली
  • मंगलवार, माघ २० २०७७

  • 8.4K
    SHARES

  • प्रधानमन्त्री केपी ओलीका वकिल सर्वाेच्च अदालतको प्रतिप्रश्नमा नाजवाफ !

    काठमाडौं – बहस गर्ने पोडियमको दायाँतिरबाट इजलासतर्फ फर्केर बस्ने महान्यायाधिवक्ता अग्नि खरेलको सोमवारदेखि बहस गर्ने पालो थियो ।

    प्रतिनिधिसभा विघटनको निर्णय सही हो भनी सरकारको निर्णयको प्रतिरक्षा गर्न उनी सोमवार सुनुवाइ सुरु हुनासाथ पोडियममा उभिए ।

    ‘मास्क लगाएपछिको फाइदा’ उनले अनौपचारिक रुपमा सुरू गर्दै भने, ‘अनुहार देख्न पर्दैन, कति जोडतोडका साथ बहस गर्‍यो भन्ने आवाजबाटै थाहा हुन्छ ।’

    प्रतिनिधिसभा विघटनको विरोधमा १३ दिनको सुनुवाइका क्रममा कैयौं कानून व्यवसायीहरूबाट व्यंग्य र आलोचना खाएका खरेलले बहसको सुरूआत समेत उनीहरुमाथिको व्यंग्यबाटै गरे ।

    ‘रिट निवेदन नै लिएर आइसकेपछि केही गम्भीर विषयवस्तु उठाएको भए हुन्थ्यो,’ खरेलले भने, ‘उहाँहरुको काम गराइ विरोधाभासयुक्त देखियो । संवैधानिक व्याख्याको विषय पनि भन्नुहुन्छ, बृहत् पूर्ण इजलास पनि चाहियो रे ! राजपत्रमा निस्केको छैन, आधिकारिक होइन पनि भन्नुहुन्छ । अनि निर्णय बदर गराउन पनि हिँडिरहनुभएको छ ।’

    खरेलले रिट निवेदकमध्येका एक नेकपा प्रमुख सचेतक देव गुरुङमाथि व्यंग्यको झटारो हाने । सरकारलाई संविधानको धारा ७६ को उपधारा २ (दुई दल मिलेर बनेको सरकार) अनुसार गठन भएको आरोप लगाउने गुरुङमाथि उनले भने, ‘एमाले र माओवादी केन्द्रबीच एकता भएपछिको परिणामस्वरूप उहाँ दलको प्रमुख सचेतक नियुक्त हुनुभयो । अहिले होइन भन्नुहुन्छ । होइन भने कुन–कुन दल मिलेर अहिले सरकार बन्यो, देखाउन सक्नुपर्‍यो ।’

    खरेलले लामो समय यस्तै सेरोफेरोका विषयवस्तु र टिपनटापन विषयमा बहस गरे । प्रतिनिधिसभा विघटनको निर्णय किन सही हो र त्यसको संवैधानिक औचित्य के हो भन्ने मूल प्रश्नमा उनले प्रवेश गर्न रुचि देखाएनन् । त्यसपछि उनले वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी र रिट निवेदकमध्येका सांसद कृष्णभक्त पोखरेलमाथि व्यंग्य कसे ।

    विघटन असंवैधानिक हो भनी दाबी गरेका त्रिपाठीले सर्वोच्च अदालतमै अर्को रिट निवेदन दर्ता गरेर ‘सरकारसँग चुनावको विस्तृत योजना झिकाउन’ आदेश माग गरेको भन्दै उनले यी २ क्रियाकलाप विरोधाभासयुक्त भएको आरोप लगाए ।

    सांसद पोखरेलले सर्वोच्च अदालतमा रिट निवेदन हालेपछि निर्वाचन आयोगमा प्रधानमन्त्रीका गतिविधि निर्वाचन आचार संहिताविपरीत हुने भन्दै रोक लगाउन माग गरेको उनले आरोप लगाए । ‘उहाँहरुका गतिविधि हेर्दा विघटन स्वीकारेको पनि देखिन्छ, विरोध पनि गरिरहनुभएको छ, अलि विरोधाभासयुक्त छ,’ खरेलले भने ।

    त्यसपछि बल्ल प्रतिनिधिसभा विघटन किन सही हो भन्ने बहसको विषयवस्तुमा प्रवेश गर्न खोजेका महान्यायाधिवक्ता खरेलले ‘संसदीय शासन प्रणाली’को शब्दावली समाते । ‘हाम्रो संविधानमा संसदीय शासन प्रणालीलाई विशेषता मानिएको छ,’ खरेलले भने, ‘संविधानवादको आधारभूत सिद्धान्तमा टेकेर नै मुलुक चलेको छ । संविधानको धारा ७४ मा नै संसदीय प्रणाली भनेपछि प्रधानमन्त्रीले प्रतिनिधिसभा विघटन गर्न पाउने अधिकार रहेको बुझ्नुपर्छ ।’

    उनी विवादको मूल विषयमा अडिरहन चाहेनन् । राजपत्रको विषयमा प्रवेश गरेका छन् । अघिल्ला दिनका सुनुवाइहरूमा पुस ५ गतेको प्रतिनिधिसभा विघटनको निर्णय झण्डै १ महिनापछि राजपत्रमा प्रकाशित भएको भन्दै निवेदकहरुका कानून व्यवसायीले हंगामा मच्चाएका थिए ।

    ‘ऐन–नियमजस्ता कानूनका हकमा मात्रै राजपत्रमा प्रकाशित भएपछि लागू हुने हो,’ खरेलले भने, ‘अरु विषयवस्तु आमजनमानसमा सूचित गर्न मात्रै प्रकाशित गरिन्छ ।’ उनले त्यसको पुष्टि गर्न आफूभन्दा १ कार्यकालअघि महान्यायाधिवक्ता भएका वरिष्ठ अधिवक्ता रमण श्रेष्ठको उदाहरण दिए ।

    रमणपछि वरिष्ठ अधिवक्ता वसन्तराम भण्डारी महान्यायाधिवक्ता भएका थिए भने त्यसपछि अग्नि खरेल । खरेलले भने, ‘मेरो नियुक्तिपछि बल्ल रमणजीको राजीनामा स्वीकृत भएको सूचना राजपत्रमा प्रकाशित भएको छ । त्यसरी हेर्दा म नियुक्त भएपछि पनि उहाँ पदमै रहिरहनुभयो त ?’

    अघिल्ला दिनहरुमा बहसका क्रममा कानून व्यवसायीले संविधान सभामा सभासद् रहेका खरेलमाथि व्यंग्य गर्न बाँकी राखेका थिएनन् । खरेलले त्यतिबेला ‘प्रधानमन्त्रीलाई प्रतिनिधिसभा विघटन गर्ने अधिकार संविधानमा नराखिएको’ भनी दिएको अभिव्यक्ति सामाजिक सञ्जालमा फैलिएको थियो । त्यही विषयलाई संकेत गर्दै कानून व्यवसायीले ‘उहाँलाई अहिले पदीय बाध्यताले बोल्न अप्ठ्यारो परेको होला, नत्र त भित्रि मनदेखि महान्यायाधिवक्ताज्यूलाई पनि विघटन गलत हो भन्ने परेको हुनुपर्छ’ भन्दै व्यंग्य गरेका थिए । खरेलले त्यसको जवाफ दिए ।

    ‘उहाँहरुले मेरो चिन्ता गर्नुभयो, (संविधान सभामा रहेकी) सपना श्रीमान् पनि यहीँ हुनुहुन्छ, उहाँलाई पनि कोट्याउने प्रयास गर्नुभयो । मैले सरकारको प्रतिरक्षा गरिनँ भने संवैधानिक दायित्वबाट च्युत होला भन्नुभयो । मेरा अभिव्यक्ति विवादास्पद थिए र ?’ खरेलले भने, ‘प्रधानमन्त्रीज्यूले जुन बाटो लिएर विघटन गर्नुभयो, त्यो संविधानसम्मत छ । संविधानको व्यवस्था, विगतको अभ्यासका आधारमा त्यो निर्णय सही छ ।’

    त्यसपछि खरेलले आफूबाहेक अरु सरकारी वकिलको नाम लिँदै बहसमा उनीहरुलाई क्षेत्रगत रुपमा जिम्मेवारी दिइएको भन्दै आफ्नो जिम्माअनुसार क्षेत्रगत गहिराइमा उनीहरुले बहस गर्ने बताए । अनि एमाले र माओवादी केन्द्र एकीकरण हुँदाका राजनीतिक प्रसंगहरुमा प्रवेश गरेका छन् ।

    २०७५ जेठ २३ गते २ दल निर्वाचन आयोगमा गएर एकीकरणको निवेदन दर्ता गराएको र त्यो आधिकारिक भएको बताएका छन् ।

    यतिञ्जेल करीब–करीब मौनजस्तै रहेको इजलासमा न्यायाधीश अनिलकुमार सिन्हाले एउटा प्रश्न सोधेका थिए । उनले गत पुस ५ गतेको मन्त्रिपरिषद् बैठकको निर्णय पढ्न आग्रह गरेका छन् । जसमा लेखिएको थियो, ‘प्रतिनिधिसभामा बहुमत प्राप्त संसदीय दलको नेताको हैसियतले २०७४ फागुन ३ मा प्रधानमन्त्री पदमा मेरो नियुक्ति भएपछि ... ।’

    त्यसपछि सिन्हाले बीचैमा रोके । ‘जुन मितिमा २ दलबीच एकीकरण भएकै थिएन, त्योभन्दा अगाडिको मितिमा बहुमत प्राप्त एउटै दलको संसदीय दलको नेता भनेर मन्त्रिपरिषद्को बैठकको निर्णयमा कसरी लेख्न मिल्यो ?’

    महान्यायाधिवक्ता खरेलले २०७४ फागुन ३ गते सरकार गठन हुँदा यो–यो दलको समर्थन थियो भनी फेहरिस्त सुनाए । अनि त्यो समर्थन कायम रहेकाले नेकपा विना सरकार बन्न सक्छ भन्ने कुनै दलले दावी नगरेको बताए । उनले सिन्हाको प्रश्नको सोझो जवाफ दिएनन् । घुमाउरो रुपमा सरकार गठनको पृष्ठभूमि बाँधेर छाडिदिएका थिए ।

    अनि महान्यायाधिवक्ता खरेलले इजलासको ध्यानाकर्षण गराउँदै संविधानका धारा र उपधारा टिप्न लगाए । उनका अनुसार ती धारा/उपधाराहरु कुनै न कुनै रुपमा प्रतिनिधिसभा विघटन गर्न पाउने प्रधानमन्त्रीको अधिकारसँग सरोकारित छन् । संविधान निर्माणका क्रममा तयार भएका प्रतिवेदन र फेहरिस्तहरू पनि हेर्न आवश्यक नभएको बताए । खरेलले भने, ‘त्यहाँ लेखिएको कुराको आधारमा हेर्ने हो भने हामी सही ठाउँमा पुग्न सक्दैनौं ।’

    महान्यायाधिवक्ता खरेलले संविधान निर्माणका क्रममा नेपाली कांग्रेस, एमाले, माओवादी, मधेशवादी दलहरुबीच १६ बुँदे सहमति भएको र त्यो सहमति शासकीय स्वरूप निर्धारणका विषयमा रहेको सुनाए । इजलासबाट न्यायाधीश सपना प्रधान मल्लले प्रश्न सोधिन्, ‘संविधान सभाबाहिर दलहरुबीच भएको १६ बुँदे सहमतिलाई संविधान निर्माणको मनसायका रुपमा लिन मिल्छ र ?’

    महान्यायाधिवक्ता खरेलले सोझो उत्तर दिएनन् । न्यायाधीश अनिलकुमार सिन्हाले प्रधानमन्त्रीले पदको शपथग्रहण गर्दा संविधानको धारा ७६ को कुन उपधारा अन्तर्गत शपथ लिएका हुन् भनी जानकारी मागे ।

    त्यसपछि न्यायाधीश तेजबहादुर केसीले भने, ‘हामी सरकारी पक्षले संविधानको कुन धाराअन्तर्गत उहाँको नियुक्ति भनेका छौं त ?’

    महान्यायाधिवक्ता अग्नि खरेलले यी प्रतिप्रश्नहरुको पनि सोझो उत्तर दिएनन् । बरु तर्किएर संविधानको धारा ७६ का विकल्पहरुमा बहस गर्न थाले । उनको सवाल एउटै दलको बहुमतको सरकार, संयुक्त सरकार अनि अल्पमतको सरकारले गर्न नसक्ने विघटनको सिफारिस जुनसुकै दलको सांसद (धारा ७६ को उपधारा ७) अन्तर्गत बन्ने प्रधानमन्त्रीले चाहिँ कसरी सक्छ भन्ने थियो ?

    ‘सबैभन्दा कमजोर सरकारले प्रतिनिधिसभा विघटन गर्न सक्ने तर बहुमतको प्रधानमन्त्रीले नपाउने रे,’ खरेलले भने, ‘के संविधानको व्याख्या यसरी हुन सक्छ र ?’ निवेदकका कानून व्यवसायीले प्रतिनिधिसभा विघटनको विषयलाई अहिलेको संविधानमा अधिकार नभई सरकार गठन हुन नसक्ने अवस्था भएमा गतिरोध फुकाउन ताजा जनादेशमा जाने प्रक्रियाका रुपमा रहेको भनी दावी गरेका थिए ।

    बहस मूल मुद्दामा प्रवेश गर्न नसकेपछि न्यायाधीश सपना प्रधान मल्लले केही सवाल अघि सारिन् । उनले ‘बहुमतको सरकारले प्रतिनिधिसभा विघटन गर्न पाउने कि नपाउने ? भनी सोधिन् । अनि वैकल्पिक सरकार बन्न सक्ने अवस्था थियो कि थिएन भनेर प्रतिनिधि सभामा परीक्षण हुनुपर्ने कि नपर्ने भनी अर्को प्रश्न गरिन् ।

    जवाफमा खरेलले संसदीय दलको नेता चयन भइसकेका बेला त्यो खण्डित नभएको, प्रतिनिधि सभामा पनि विश्वासको मत कायम भएको अवस्थामा परीक्षण गरिरहनु नपर्ने जवाफ दिए । २०४७ सालको संविधानमा पनि त्यो व्यवस्था रहेको भन्दै उनले ‘अहिले विघटनको अधिकार हटाइएको भनेर तर्क गर्न नहुने’ बताएका छन् ।

    ‘एउटा प्रधानमन्त्रीलाई विघटन गर्न नदिनुको परिणाम के भयो ?’ खरेलले २०५२ सालमा तत्कालीन प्रधानमन्त्री मनमोहन अधिकारीले गरेको विघटन सर्वोच्च अदालतले उल्ट्याएको र त्यसपछि बारम्बार सरकार ढाल्ने र फेर्ने खेल भएको उदाहरण दिँदै भने, ‘विघटन सदर नगर्दा हुने राजनीतिक क्षतिको आकलन गर्नुपर्छ ।’

    नेपालको संविधानलाई संसदीय व्यवस्था भएको संविधानकै संज्ञा दिँदै उनले ‘सुधारिएको संसदीय व्यवस्था, जसमा प्रधानमन्त्रीलाई विघटन गर्ने अधिकार छैन’ भन्ने विपक्षी कानून व्यवसायीहरुको तर्कमा आपत्ति जनाएका छन् । उनले संविधानमा ‘सुधारिएको संसदीय व्यवस्था भनेर लेखिएको छ र ?’ भनी उल्टै प्रश्न गरेका थिए ।

    प्रधानमन्त्री केपी शर्मा ओलीलाई दलभित्रैबाट असहयोग भएको र काम गर्न नदिइएकाले विघटन गर्नुपरेको भन्दै उनले प्रतिनिधि सभामा अविश्वासको प्रस्ताव पेश नभएको र संसदीय दलमा पनि नेता फेर्ने प्रस्ताव नपरेको अवस्थामा विघटनको विकल्प नभएको दाबी गरेका छन् ।

    ‘अर्को सरकार गठन हुन सक्ने अवस्था पटक्कै थिएन,’ उनले भने । न्यायाधीश विश्वम्भर श्रेष्ठले सोधे, ‘अर्को प्रधानमन्त्री नियुक्त हुन नसकेको अवस्था हो र ?’

    ‘यो कसरी व्याख्या गर्नुहुन्छ, इजलासको कुरा हो,’ महान्यायाधिवक्ता खरेलले भने, ‘सरकारले काम गर्न सकेन । दलभित्रैबाट असहयोग भयो । यस्ता राजनीतिक प्रश्न उठेपछि अर्को प्रधानमन्त्री नियुक्त हुन सक्ने अवस्था थिएन । तसर्थ विघटनमा जाने निर्णय भएको हो ।’

    न्यायाधीश तेजबहादुर केसीले सोधे, ‘प्रधानमन्त्रीले धारा ७६ को उपधारा ७ अनुसार विघटन गर्दा विश्वासको मत लिनुपर्ने हो ?’ जवाफमा खरेलले भने, ‘विश्वासको मत खण्डित नभएसम्म परीक्षण गर्न आवश्यक छैन ।’

    निवेदकहरुले बहस गर्दा हरेकजसोलाई राजनीतिक मिश्रित प्रश्नहरु सोधिरहने प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा यतिञ्जेल मौन थिए । उनले पहिलोपटक प्रश्न सोधे, ‘अब विघटन नहोस् भन्ने आइरहेको छ त, २०५१ सालमा जस्तो नहोस् भन्न संविधानमा अहिलेको व्यवस्था राखेको हैन र ?’

    यही बीचमा न्यायाधीश मल्लले केही प्रश्न राखिन्, प्रतिनिधि सभामा विश्वासको मत परीक्षण हुन पर्ने कि नपर्ने ? अर्को प्रधानमन्त्री नियुक्त हुने अवस्था नै थिएन भन्ने आधार के हो ? सरकार चलाउन नदिनु, पार्टी चलाउन नसक्नु एउटै हो र ? अनि प्रधानमन्त्रीको अवशिष्ट अधिकार दललाई हो या दलको नेतालाई भनेर समेत सोधिन् । जसको उत्तर महान्यायाधिवक्ताले यसअघि पनि पटक–पटक पन्छाइरहेका थिए ।

    खरेलले प्रतिनिधि सभामा विचाराधीन नागरिकता सम्बन्धी विधेयकको कुरा जोडे । विधेयक पारित नहुँदा कैयौंले दुःख पाएको भन्दै निजामती, लोकसेवा आयोग लगायतका विधेयकले पनि यही नियति भोग्नुपरेको बताए ।

    उनले न्यायाधीशको प्रश्नको सोझो उत्तर दिएनन्, बरु प्रसंग एमसीसीतिर मोडे । ‘एमसीसी अघिल्लो सरकारको प्रतिबद्धताको कुरा थियो तर अघि बढेन,’ उनले भने, ‘छुट्याएको कुरामा सम्बन्धित साथीहरुले (जवाफ) दिन्छन् ।’ उनले अरु सरकारी वकिललाई संकेत गरेका थिए ।

    फेरि उनले संविधानका केही धारा टिपाउँदै तीभित्र पनि विघटनको आशय रहेको भनी तर्क गर्न थाले । अनि न्यायाधीश सपना प्रधान मल्लले ‘विघटनको परिणाम र आशय एउटै हो र ? फरक किन होइन ?’ भनी प्रश्न गरिन् ।

    ‘संसदीय शासन प्रणालीमा विघटन नभएका उदाहरण छन् र ?’ खरेलले भने, ‘संविधानमा विघटनको परिकल्पना छ, संसदीय प्रणाली भएकाले यो सम्भव छ ।’

    न्यायाधीश अनिलकुमार सिन्हाले संविधानको प्रस्तावमा दीगो शान्ति, समृद्धि लगायतका विषय राखिएको तर अहिलेझैं बारम्बार निर्वाचन भएमा बढ्ने राजस्वको भारले कसरी समृद्धि आउँछ भन्ने प्रश्न गरे । उनले भने, ‘दलभित्रको विवादको विषय दलबाहिर रहेका जनताले किन व्यहोर्ने ?’

    जवाफमा खरेलले प्रधानमन्त्रीले आफूलाई काम गर्न नदिएकाले जनतामा जान चाहेको बताए । अनि प्रधानमन्त्रीले अदालतमा पठाएको लिखित जवाफको लामो हिस्सा पढेर समय बिताए । न्यायाधीश सिन्हा अझै पनि उत्तरबाट सन्तुष्ट हुन सकेनन् । उनले ‘कोही व्यक्ति संसदीय दलको नेता भएमा उसको विकल्प हुन सक्ने वा नसक्ने भन्नेबारे प्रश्न सोधे ।

    सिन्हाले भने, ‘दलको नेता चुनेपछि ५ वर्षसम्म परिवर्तन हुन नसक्ने हो वा परिवर्तन हुन सक्छ ?’ जवाफमा खरेलले भने, ‘प्रधानमन्त्रीका पनि सपना हुन सक्छन् । संसदीय दलका पनि सपना हुन्छन् । त्यहाँ अर्को विकल्प हुँदैन । त्यो राजनीतिक विषय हो । हामी प्रवेश गर्न मिल्छ जस्तो लाग्दैन ।’

    ४ बजिसकेपछि महान्यायाधिवक्ताले कानूनविद् सूर्य ढुंगेलको लेख निकाले । केहीबेर वाचन गरे र ‘श्रीमानहरुले पढिदिँदा राम्रै हुन्छ’ भन्दै इजलासतिर दिए । समय सकिन लागेको संकेतपछि इजलासले खरेललाई ‘अझै कति समय लिनुहुन्छ ?’ भनी सोध्यो । केहीबेरको कुराकानीपछि मंगलवार चिया ब्रेक अघिसम्म खरेलले नै बाँकी बहस गर्ने निष्कर्षका साथ सोमवारको सुनुवाइ टुंगियो । आजको कान्तिपुर दैनिकमा समाचार प्रकाशित छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, बैशाख २५ २०७७०४:००:१५

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend