काठमाडौं – नेपाली कांग्रेसका युवा नेता एवम् पूर्वसांसद रामहरि खतिवडाले कांग्रेसले बनाएको संविधानलाई असफल बनाउन प्रधानमन्त्री केपी ओली सक्रिय भएर लागेको आरोप लगाएका छन् ।
‘संविधानले नदिएको अधिकार प्रयोग गरेर ओलीजीले संसद विघटन गर्नुभएको छ । चार वर्ष मसहित ओलीजी, विद्यादेवी भण्डारी, सुवासचन्द्र नेम्वाङ, झलनाथ खनाल सबै एउटै क्लासमा बसेर संविधान बनाएका हौँ’, उनले भने, ‘निरंकुश बन्नका लागि ओलीजीले संविधानमा हुँदैनभएको अधिकार प्रयोग गर्नुभयो । उहाँले आफ्नो निर्णयलाई सच्याउनुपर्छ ।’
कांग्रेसका नेता खतिवडाले प्रधानमन्त्री ओलीमा निरंकुश बन्ने चाहना पलाएर संसद विघटन गरेको टिप्पणी पनि गरेका छन् ।
जनताले निर्वाचनमा झण्डै दुईतिहाइको बहुमत दिँदा पनि कम्युनिस्टहरूले देश चलाउन नसकेको भनेर खतिवडाले आलोचना गरेका छन् । ‘मुलुकको विकास, समृद्धि र जनताको उन्नति होला भनेर कांग्रेसले तीन वर्षसम्म सरकारलाई कुनै पनि अफ्ठ्यारो पारेन । संसदबाट विधेयक पास हुँदा अवरोध गरेन । कुनै दिन सरकारको विरोध गरेन’, उनले भने, ‘आफूभित्रको झगडाले गर्दा संसद विघटन गरियो । कम्युनिस्टहरूले भ्रष्टाचार गरे । यो कुरा हामीले भनेको होइन । उहाँहरू आफैले एकले अर्कालाई भन्नुभएको छ ।’
जनताबाट दुईतिहाइको बहुमत पाउँदा पनि कम्युनिस्टहरूले केही काम नगरेर संसद विघटन गरेको भन्दै अबको निर्वाचनमा जनताले कम्युनिस्टहरूलाई हराएर दण्ड दिनुपर्ने कांग्रेस नेता खतिवडाले बताएका छन् । ‘कम्युनिस्टहरूफेरि जनतासँग भोट माग्न आउनेछन्’, उनले भने, ‘भोट दिने हो । तर, कम्युनिस्टविरुद्ध जनताले भोट दिनेछन् । कांग्रेसलाई भोट दिएर जिताउनेछन् ।’
कांग्रेसका नेता खतिवडाले ओलीलाई ईमान्दार भएर वैशाखमा चुनाव गरेर देखाउन सुझाव दिएका छन् । ‘ओलीजी साच्चिकै निर्वाचन गर्ने हो भने वैशाखमा गरेर देखाउनुस्’, उनले भने, ‘तपाईलाई ओखलढुंगाबाट हटाएर लखेटछौँ । चुनावबाट कांग्रेस भाग्दैन । तपाईको हारका सुरुवात ओखलढुंगाबाट हुनेछ ।’
नेकपालाई ‘फुकपा’ भनेका खतिवडाले भने, ‘फुकपा भनेको फुट्ने कम्युनिस्टहरूलाई जनताले राम्रोसँग चिनेका छन् । कम्युनिस्टले सबैतिर ताला लगाएको विकास र देशलाई अवरुद्ध बनाएका छन् । आजकै मितिदेखि कांग्रेसले विकासका लागि जनतासँग आग्रह गर्छु । कांग्रेसलाई जिताउनुस् । तपाईहरू र देशको विकास कांग्रेसले गर्छ ।’
ओखलढुंगा जिल्लामा कांग्रेसले जितेको बेला ल्याएका विकासका कार्यक्रमहरूलाई नेकपाका सांसद यज्ञराज सुनुवारले आफूले ल्याएको भनेर दावी गरेको भन्दै खतिवडाले आपत्ति जनाए । उनले भने, ‘म सांसद हुँदा सडक, पुल, विजुली, पानी ल्याएँ । विकासका योजनाहरू राखे । नेकपाका सांसदले हामीले बनाएको विकासका कार्यक्रमहरू लाज नमानेर उद्घाटन गर्नु हिँड्नुभएको छ ।’
नेकपाका सांसद सुनुवारले जिल्ला समन्वय समितिको सरकारी गाडी दुरुपयोग गरेको भन्दै खतिवडाले अपात्ति जनाएका छन् ।
उनले कम्युनिस्टहरूले आफ्नै दुईतिहाइको सरकार हुँदा पनि ओखलढुंगा जिल्लामा नयाँ कार्यक्रम ल्याउन नसकेको भन्दै आक्रोश पोखेका छन् । ‘कम्युनिस्टहरूले जनतालाई धोका दिएका छन् । अब भोट माग्न आउँदा कम्युनिस्टहरूले कुन मुख लिएर आउने हुन् ?’, खतिवडाले भने, ‘कम्युनिस्टले जनतालाई धोका दिएका छन् । जनतालाई समृद्धि बनाउने भनेर झुट बोलेका छन् । जनताले सजाय दिनुपर्छ ।’
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।