काठमाडौं – नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल तरुण दलले प्रधानमन्त्री र राष्ट्रपतिविरुद्ध अविश्वासको प्रस्ताव लगेर पदमुक्त गर्न माग गरेको छ। तरुण दलका अध्यक्ष जीत जंग बस्नेतले एक विज्ञप्ती जारी गरी प्रधानमन्त्री केपी ओली राष्ट्रपति विद्यादेवी भण्डारीविरुद्ध अविश्वासको प्रस्तावको माग गरेका हुन्।
तरुण दलले राष्ट्रपतिको भूमिका माथि पनि प्रश्न उठाएको छ। संसद बैठक डाक्नु पर्ने बेलामा संसदलाई झन बन्धक बनाएर अध्यादेश ल्याउनु संविधान विरित भएको तरुण दलको ठहर छ।
‘प्रमुख प्रतिपक्षी दल लगायतका विपक्षी दलले संसद बैठकको माग गरिरहेको बेला महिनौ देखि संसदलाइ बन्धक बनाएर र उप–सभामुख जस्तो गरिमामय पद खाली राखेर प्रधानमन्त्रीले आफ्नो स्वैच्छाचारी तरिकाले ल्याएको संवैधानिक परिषदसम्बन्धी अध्यादेश अत्यन्तै अलोकतान्त्रिक, संविधानको मर्म र भावना विपरीत छ,’ अध्यक्ष बस्नेतले जारी गरेको विज्ञप्तीमा भनिएको छ, ‘त्यसैले उक्त अध्यादेश तुरुन्त फिर्ताका लिन र जारी अध्यादेश लाई टेकेर तत्काल कुनै पनि निर्णय नगर्न नेपाल तरुण दल केन्द्रिय समिति अनुरोध गर्दछ । संसदीय मुल्य मान्यता बोकेका मुलुकहरुले सबै समस्याको समाधान संसदबाट नै खोज्नु पर्छ भन्ने मान्यता नेपाल तरुण दलले राख्दछ ।’
तरुण दलले प्रधानमन्त्रीलाई अविश्वासको प्रस्ताव ल्याएर पदबाट हटाई मुलुकलाई संकटबाट मुक्त गर्न पनि माग राखेको छ। ‘सम्माननिय राष्ट्रपति ज्युको भुमिका सबै नागरिकको अभिभावक हुनुपर्नेमा प्रधानमन्त्रीको कारिन्दा र संबिधानको भक्षक जस्तो देखिन आएको हुँदा राष्ट्रपतिलाई महाअभियोग र प्रधानमन्त्रीलाई अविश्वासको प्रस्तावबाट पदबाट हटाई मुलुकलाई संकटबाट मुक्त गर्नका लागि नेपाल तरुण दल केन्द्रिय समिति जोडदार माग गर्दछ,’ बस्नेतले भनेका छन्, ‘हाम्रो माउ पार्टी नेपाली कांग्रेसले सर्बसत्ताबादका विरुद्ध सडक संघर्ष सुरु गरिसकेको र आन्दोलन अझै सशक्त हुने जानकारी समेत गराउदछौ ।’
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।