सप्तरी - प्रमुख प्रतिपक्षि दल नेपाली कांग्रेसका युवा नेता एवम् पूर्वसांसद रामहरि खतिवडाले कम्युनिस्टहरूले मधेसी जनतालाई प्रयोग गरेर सत्तामा जाने भर्याङ मात्रै बनाएको टिप्पणी गरेका छन् ।
सप्तरी जिल्लाको बोदे बर्साइन नगरपालिका–४ सोमबार बिहान पार्टी स्थानीय नेता कार्याकर्तासँगको भेटघाटका क्रममा खतिवडाले मधेसी जनता अबका दिनमा कम्युनिस्टहरूका मीठा कुरामा भुल्न नहुने बताए । उनले भने, ‘कम्युनिस्टहरूले भोट लिने वेला मात्र मधेस जनतालाई प्रयोग गर्छन् । जितिसकेपछि मधेसलाई वेवस्ता गर्छन् ।’
कम्युनिस्टका नाममा अवसर लिने ती नेताहरूलाई अबको निर्वाचनमा मधेसी जनताले उपयुक्त निर्णय गरेर सबक सिकाउनुपर्ने खतिवडाले बताएका छन् । उनले हिजोका दिनमा मधेसबाट दुःख गरेको कुनै पनि मधेसीले अवसर नपाएको बताए ।
दुईतिहाईभन्दा धेरै सिट जितेर बनेको कम्युनिस्ट सरकार आफ्ना कार्यकर्ताहरूलाई कहाँ ब्यवस्थापन गरेर भ्रष्टाचार गर्ने भन्नेमा लागेको उनले बताए । नेकपाको सरकारले मुलुक निर्माण गर्न ध्यान नदिएको बताएका छन् ।
नेता खतिवडाले कांग्रेसभित्र धेरै गुटहरू भएका कारण समस्या देखिएको बताएका छन् । उनले गाउँ–गाउँबाट गुट र आरोपको राजनीति अन्त्य गर्नुपर्ने बताएका छन् ।
नेपाली कांग्रेस पार्टी कमजोर हुँदा नेपालमा लोकतान्त्रिक पद्धति र जनजीविकाको सवालहरू कमजोर भएकोमा नेता खतिवडाले चिन्ता जनाए ।
कांग्रेस नेता खतिवडाले आइतबार सिरहामा पार्टी सभापतिसहित नेता कार्यकर्ताहरूसँग भेटघाट गरेका थिए ।

मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।