काठमाडौं - सत्तारुढ नेकपामा यतिबेला विवाद उत्कर्षमा पुगेको छ । प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी ओली र पुष्पकमल दाहाल प्रचण्डबीच एकले अर्कोलाई खुइल्याउने रणनीति लिएपछि पार्टी नै विभाजनको डिलमा पुगेको हो ।
प्रधानमन्त्री ओलीले आफूलाई अब अलग अलग हौ भनेर धम्की दिएको आइतबार प्रचण्डले सार्वजनिक गरेपछि विवादले नयाँ मोड लिएको हो ।
त्यसअघि नै ओली र प्रचण्डबीच तिक्तता निकै बढेको बुझिन्छ । किनभने कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले ओली निकट दुई मन्त्रीलाई बर्खास्त गर्ने तयारी गरेपछि ओलीले प्रचण्डलाई फोन गरेर नेकपाका प्रमुख सचेतक देव गुरुङ र पूर्वमाओवादी पक्षका तीन मन्त्रीलाई हटाउने चेतावनी दिएको सार्वजनिक भइसकेको छ ।
अब नेकपाको विवादले कुन मोड लिन्छ ? भन्ने एकिन छैन । तर, प्रधानमन्त्री ओली पक्षले भने दशैंअघिदेखि नै भित्रभित्रै तीव्र तयारी बढाएको पाइएको छ ।
यदि पार्टी विभाजन भएमा प्रदीप नेपाललाई नेकपा एमालेको अध्यक्ष बनाउने भित्री रणनीति ओली पक्षले बनाइएको खुलेको छ । त्यसका लागि प्रधानमन्त्री ओलीको निजी सचिवालयको पूरै टिम प्रदीप नेपालको घरमा पुगेको थियो ।
जसको संकेत प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले दशैंको बेलामै गरेका थिए । उनले फेसबुकमा तस्बिर राख्दै ऐतिहासिक छलफल भएको भनेर लेखेका थिए ।
नेता नेपाललाई भेट्न उनको निवासमा लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल, स्वास्थ्यमन्त्री भानुभक्त ढकाल, विष्णु रिमाल, डा.राजन भट्टराई, सूर्य थापालगायत पुगेका थिए । उनीहरू प्रधानमन्त्री ओलीको सन्देश लिएर गएको रहस्य खुलेको छ ।
ओली पक्षले यस्तो तयारी गरेपछि प्रचण्ड असन्तुष्ट बनेको स्रोतले बताएको छ । यी सबै गतिविधि पार्टी विभाजनका लागि भइरहेको ठम्याइँ उनको छ ।
प्रदीप नेपाल पूर्वएमालेमा निकै चतुर नेता मानिन्छन् । ओली र वामदेव गौतमलाई एक गराउन पनि उनकै भूमिका बढी रहेको मानिन्छ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।