काठमाडौं - कोरोना महामारीले मुलुक अस्तव्यस्त भएको र सरकारले वास्ता नगरिरहेका बेला कांग्रेस युवा नेता तथा पूर्वसभासद रामहरि खतिवडा भने जनताको साथमा उभिएका छन् । महामारीको यस कठिन परिस्थितिमा जनताको साथमा उभिएर कोरोना महामारीविरुद्धको लडाइँको अग्रपंक्तिमा खतिवडा रहेका छन् ।
नेता खतिवडाले महामारीमा गृहजिल्ला ओखलढुंगा पुगेर गुर्जो खेती विस्तारका लागि बिरुवा बाँडिरहेका छन् । दसैंको अवसरमा गृहजिल्ला पुगेका खतिवडाले कोरोना महामारीविरुद्धको लडाइँमा उपयोगी मानिएको गुर्जो खेतीमा स्थानीयहरुलाई प्रोत्साहित गरिरहेका छन् ।
उनले ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिकाका सबै वडामा गुर्जो खेतीका लागि बिरुवा वितरण गरेका हुन् । रोगप्रतिरोधात्मक क्षमता बढाउने जडीबुटीका रूपमा प्रयोग भइरहेको गुर्जो मानेभञ्ज्याङका दुई हजार सात सय तथा सुनकोसी र सिद्धिचरणका विभिन्न वडामा तीन सय गरेर तीन हजार बिरुवा रोपिने खतिवडाले जानकारी दिएका छन् ।
उनले गुर्जो खेती विस्तारका लागि गाउँपालिकाका नौवटै वडामा तीन-तीन सयका दरले वितरण गरेको बताए । उनले आफू जनतामाझ पुगेर जनताको अवस्था र कोरोना महामारीले पारेको प्रभावबारे बुझ्न विभिन्न स्थानीय तहमा पुगिरहेका छन् ।
उनले भने, "अहिले सरकार जनताको साथमा नभएको अवस्थामा प्रतिपक्ष जनताको साथमा रहेको भन्ने आभास दिलाउन हामी जनतामाझ पुगिरहेका छौं । नेपालका प्रधानमन्त्रीले खुफिया प्रमुखलाई भेटेर राष्ट्रवादी मुकुण्डोको वास्तविकता छर्लङ्ग भएको छ । सरकार जनताको साथमा छैन । त्यसकारण हामी जनताको साथमा पुगिरहेका छौं ।"
उनले खेलकुदलाई प्रबर्द्धन गर्न र युवा सक्रियता बढाउनका लागि खेल सामग्रीहरुसमेत वितरण गरेका छन् । उनले भने, "अहिले सबैतिर युवाहरुमा पनि वितृष्णा पैदा भइरहेका बेला खेलकुदमार्फत उनीहरुको सक्रियता बढाउनका लागि विभिन्न स्थानीय तहमा फुटबल, भलिबल र नेटहरु वितरण गरेका छौं ।"
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।